चितवन । अपराधीको निशानामा परेको हात्ती चञ्चलकलीले बुधबार विहान सुँडबाटै दाना पनि खान थालेको छ।
गत चैत २१ गते राति चितवन, सौराहास्थित हात्तीसारमा रहेको ४५ वर्षको पोथी हात्ती चञ्चलकलीको सुँड काटिएको थियो। दुखाइले छट्पटाएको घाइते हात्तीले पाँच दिनपछि बल्ल सुँडमा पानी भरेर मुखमा पुर्याउने प्रयास गरेकी थिई।
सुँड काटिएको पचासौं दिनमा उसले आफैंले दाना खान थालेकी हो।
राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका वन्यजन्तु भेटेरिनरी प्राविधिक किरण रिजालका अनुसार चञ्चलकलीले बुधबार बिहान सुँडबाटै दाना खान थालेकी हो।
‘केही दिनअघि पनि खाने प्रयास गरेकी थिई तर सकिन। सुँडले उठाउन खोज्दा च्याप्नै सक्थिन,’ रिजालले भने, ‘आज बिहानबाट खान सकी। अहिले मज्जाले खाइरहेकी छ।’









