चितवन । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं ५ का ज्येष्ठ नागरिकलाई शुक्रबार सम्मान गरिएको छ । वडा कार्यालयले एक औपचारिक कार्यक्रमको आयोजना गरी पौष्टिक आहार सहित वडा भित्रका ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो ।
वडा भित्रका ८० बर्ष नाघेका ७१ जना ज्येष्ठ नागरिकलाई पौष्टिक आहारसंगै सम्मान गरिएको वडाअध्यक्ष दिपक बहादुर भट्टराईले जानकारी दिए । कालिकाका मेयर विनोद रेग्मी, उपमेयर विमला तामाङ र प्रमुख प्रशासकीय अधिकृत केशबप्रसाद उपाध्यायले ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । साथै ज्येष्ठ नागरिकलाई टेक्ने लौरो समेत प्रदान गरिएको छ ।
सो अबसरमा मेयर विनोद रेग्मीले नगरभित्रका कोहीपनि ज्येष्ठ नागरिकले दुःख पाउन नहुने भन्दै समस्यामा परेका बुबाआमाको लालनपालन र उपचारको जिम्मा स्थानीय सरकारले दिने बताए । आधुनिक समाजको निर्माणसंगै बुबाआमालाई बेवास्था गर्ने प्रचलन बढ्दै गएको भन्दै उनले साक्षर भगवानरुपी बुबाआमालाईको सम्मानले मात्र समाज विकास हुने बताए ।
उपमेयर तामाङ समाज निर्माणमा योगदान गरेका ज्येष्ठ नागरिकलाई उनीहरुको योगदानको मुल्याङकन गरी स्थानीय सरकारले सम्मान गरेको बताइन् । कार्यक्रममा ८५ बर्षीय वालकृष्ण ढकाल बृद्धबृद्धाले सामुहिक रुपमा आराम गर्न सक्ने सित्तलपार्टी निर्माण गरिदिन नगरपालिकासंग माग गरेका छन् । उनले चोकचोकमा सित्तलपार्टी र ८० बर्ष नाघेकाहरुलाई स्थानीय सरकारले अतिरिक्त भत्ताको व्यवस्था गर्न माग गरेका हुन् ।
वडाअध्यक्ष दिपक बहादुर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमम संस्थापक उपमेयर कमला भट्टराई, संस्थापक वडाध्यक्ष जियन महतो, कार्यपालिका सदस्य फारम कुमारी ढकाल, वडा सदस्य सिकेन्द्र चौधरी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम वडा सचिव सुनिता रेग्मीले सञ्चालन गरेकी थिइन् ।










