भुटानी शरणार्थी प्रकरणका आरोपितहरूको पासपोर्ट जफत गर्नुपर्छ: रास्वपा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नक्कली भुटानी शरणार्थी प्रकरणका संदिग्धहरूको राहदानी जफत गर्न सरकारसँग माग गरेको छ।

यो प्रकरण संगठित ठगी र राज्यविरूद्ध अपराध भएकोसमेत रास्वपाले बताएको छ।

‘यो प्रकरण केवल भ्रष्ट्राचारको मुद्दा होइन। एक सङ्गठित ठगी, राज्य विरुद्ध अपराध हो, राष्ट्रघाती कार्य हो। यो मानव तस्करीको नविन रुप हो, ठगी हो तथा भ्रष्ट्राचार विरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धी, अन्तरदेशीय संगठित अपराध विरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धी लगायतका अन्तर्राष्ट्रिय सन्धी सम्झौता समेतको उल्लङ्घन हो। तसर्थ यस्ता अपराधलाई भ्रष्ट्राचारको रुपमा मात्र हेरिनु पर्याप्त हुँदैन,’ रास्वपा महामन्त्री डा. मुलुक ढकालले सोमबार निकालेको विज्ञप्तिमा उल्लेख छ।

भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय समुदायमा नेपाल र नेपालीको छविमा आँच पुर्‍याएको पनि रास्वपाले बताएको छ।

‘यो घटनाले विश्व सामु स्वाभिमानी नेपालीको शिर झुकाएको छ। यस प्रकरणमा संलग्न जोसुकै भएपनि कुनै पनि हालतमा छाड्न हुँदैन भनी यसका घटनाक्रमलाई हामीले सुक्ष्म ढंगले नियालिरहेका छौं। हालसम्म सरकार र नेपाल प्रहरीले उठाएका कदमप्रति हाम्रो साथ, समर्थन व्यक्त गर्दछौं,’ उनले भनेका छन्। यस प्रकरणका बहुआयामिक पक्षहरुलाई केलाई अनुसन्धानलाई सोही ढंगले अगाडि बढाउन पनि रास्वपाले माग गरेको छ।

‘दोषीलाई कडाभन्दा कडा कारवाही गर्न सरकारलाई खबरदारी गर्न चाहन्छौं। यसमा संदिग्ध व्यक्तिहरुको राहदानी तत्काल जफत गरी मुलुक बाहिर जानबाट रोक्नु पर्दछ। साथै यस प्रकरणमा पीडित पक्षको ठगी भएको रकम पीडकबाट असुल उपर गराई फास्ट ट्रयाकमा क्षतिपूर्ति दिलाउन सरकारद्वारा सहजीकरण गरिदिनुहुन समेत अनुरोध गर्दछौं,’ रास्वपाले भनेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको