चितवनमा ‘लोकतन्त्र संवाद् तथा नागरिक शिक्षा’ बिषयक अन्तरक्रिया

चितवन । चितवनमा ‘लोकतन्त्र संवाद् तथा नागरिक शिक्षा’ बिषयक अन्तरक्रिया गरिएको छ । फ्रेडरिक इबर्ट स्टिफ्टुङले शनिबार अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा संविधानविद् काशिराज दाहालले ‘संविधान, संघीयता र सुशासन : कार्यान्वयनको स्थिति’ विषयक, नेपाल टेलिभिजनकी नायब महाप्रबन्धक आरती चटौतले ‘लोकतन्त्रका लागि सामाजिक न्याय’ विषयक र अधिवक्ता रोशन पोखरेलले ‘प्रजातन्त्र : प्राचीन, आधुनिक र भविष्यमा’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै संविधानविद् काशीराज दाहालले तीन तहको संघीयतामा समस्या देखा परेको बताए । जनताले चाहेमा नेपालमा संघीयता पूरै खारेज वा दुई तहको मात्र बनाउन सकिने उनको भनाइ थियो । ‘प्रतिनिधिसभामा दुईतिहाई बहुमत पुग्यो भने संविधान संशोधनको माध्यमबाट शासन प्रणाली परिवर्तन गर्न सकिन्छ’ दाहालले प्रष्ट पारे ।

नेपालमा संघीयता असफल भयो भन्न नमिल्ने तर्क गर्दै दाहालले भने, ‘डाक्टरले औषधी लेखेर दियो तर बिरामीले औषधी खाएन भने औषधीले काम गरेन भन्न मिल्दैन । हामीले शासन प्रणालीका बारेमा सुझाव दियौँ तर कार्यान्वयन तहमा समस्या देखा परेको छ ।’ राजनीतिले संविधान बनाउने र संविधानले विधिको शासन प्रत्याभूत गर्ने उनले बताए । दिगो शान्ति, विकास, सुशासन र समृद्धिका लागि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनमार्फत् समाजवादमा पुर्‍याउने उद्देश्यले नेपालको संविधान २०७२ जारी भएको स्मरण गराउँदै दाहालले भने, ‘लोकतन्त्रमा विधिको शासन हुनुपर्छ, विचौलियाको होइन । पार्टी भनेको पार्ट (अंश) हो, होल (पूर्ण) होइन ।’

नेपाल टेलिभिजनकी नायब महाप्रबन्धक तथा लैगिक विश्लेषक आरती चटौतले महिला सशक्तिकरणको आयममा चितवन अरु जिल्ला भन्दाअघि रहेको बताइन् । अरु जिल्ला भन्दा चितवनमा साक्षरता प्रतिशत धेरै भएको उनको भनाइ छ । आजको दिनमा पनि तीन जना महिला मध्येमा एक जनाले हिंसा सहनु परेको उनले बताइन् । उनले भनिन्, ‘अझै समाजमा जातको नाममा, धर्मकोरुपमा महिला हिसांमा परिरहेका छन् ।’

विश्व श्रम संगठनले अनुसन्धान गरेको तथ्याङ्कअनुसार विश्वको सम्पूर्ण कामको ७० प्रतिशत महिलाले र ३० प्रतिशत पुरुषले काम गर्ने उनले जानकारी दिइन् । उनले भनिन्, ‘संगठनले गरेको अनुसन्धान अनुसार सबैभन्दा बढी विश्वमा एसियाका महिलाहरुले बढी काम गर्ने तथ्याङ्कले देखाएको थियो । त्यस अनुसन्धानपछि अर्को अनुसन्धान गर्दा दक्षिण एसियाका महिलाले पुरुषले भन्दा बढी महिलाले बढी काम गर्दथे । त्यसपश्चात अर्को अनुसन्धान गर्दा विश्वमा सबैभन्दा धेरै काम गर्ने नेपालको महिलाहरु रहेको तथ्याङकले देखाएको छ ।’ कार्यक्रममा सहभागिहरुले नेपालमा संघीयता कि खारेज गर्नुपर्छ वा सुधार गरेर समन्वयकारी भुमिकामा कम खर्च हुने गरि मात्र राख्नु पर्नेमा जोडदिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको