चितवन । चितवनको कालिका नगरपालिकाले नगरभित्र प्रहरी निरीक्षकको दरबन्दीसहित इलाका प्रहरी कार्यालय राख्न सरकारसँग माग गरेको छ । नगरप्रमुख विनोद रेग्मीले गृहसचिव विनोदप्रकाश सिंह र प्रहरी महानिरीक्षक वसन्तवहादुर कुँवरलाई भेटेर कार्यालय राख्न माग गरेका हुन् । गृह मन्त्रालयमा बिहीवार गृहसचिव सिंह र प्रहरी महानिरीक्षक कुँवरसँग नगरप्रमुख रेग्मीले भेट गरेका थिए ।
सोही क्रममा उनले आफ्नो नगरपालिकामा प्रहरी निरीक्षकसहितको इलाका प्रहरी कार्यालय राख्नुपर्ने भन्दै ध्यानाकर्षण गराएका थिए । भेटमा गृहसचिव सिंह र प्रहरी महानिरीक्षक कुँवरबाट सकारात्मक जवाफ पाएको प्रमुख रेग्मीले बताए । ‘भूगोलका हिसाबले हाम्रो नगरपालिका ठूलो छ’, नगरप्रमुख रेग्मीले भने, ‘प्रहरी निरीक्षकको दरबन्दीमा मुद्दा चल्ने गरी इलाका प्रहरी कार्यालय राख्न सरकारलाई ध्यानाकर्षण गराएँ, सकारात्मक जवाफ पाएको छु ।’
नगरप्रमुख रेग्मीका अनुसार आफ्नो नगरभित्र लागूऔषध दुव्र्यसनीको प्रयोग तथा ओसारपसार व्याप्त रहनुका साथै सवारी दुर्घटना बढी हुने गरेको छ । ‘लागूऔषध र सवारी दुर्घटना यहाँको मुख्य समस्या छ’, नगरप्रमुख रेग्मीले भने, ‘प्रहरीकै सक्रियतामा यस्ता क्रियाकलाप नियन्त्रण हुन्छ, त्यसका लागि प्रहरी चौकीको स्तरोन्नति गरी इलाका प्रहरी कार्यालय बनाउनुपर्छ ।’
कालिकाको जुटपानीमा प्रहरी चौकी, खोलेसिमलमा प्रहरी चौकी र पदमपुरमा प्रहरी बिट छ । प्रहरी चौकीमा प्रहरी नायब निरीक्षकको कमान्ड रहेको छ । इलाका प्रहरी कार्यालय टाँडीमा प्रहरी नायब उपरीक्षक ९डिएसपी०को कमान्ड रहेको छ । सो कार्यालयमा दुई जना प्रहरी निरीक्षकको दरबन्दी छ । सोही कार्यालयका प्रमुख डिएसपीकै कमान्डमा कालिकाको सिद्धिसम्म सुरक्षा तथा सेवा दिनु परेको छ ।









