काठमाडौँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ-१ र चितवन-२ मा सानदार जित हात पारेको राष्ट्रिय स्वतन्त्र पार्टीको बारा-२ मा भने जमानत जफत भएको छ । बारा-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाल सुशासन पार्टीका अध्यक्षसमेत रहेका पूर्वडीआईजी रमेश खरेललाई उठाएको थियो ।
बारा-२ का ३४ उम्मेदवारमध्ये खरेलसहित ३१ उम्मेदवारको जमानत जफत भएको छ । बारा-२ मा कुल १ लाख ५ हजार २ सय ४८ मतदाता रहेकामा ६९ हजार २२ मत खसेको थियो । त्यसमध्ये ८३० मत बदर भई ६८ हजार १ सय ९२ मत सदर भएको थियो । यस हिसाबले जमानत जोगाउन बारा-२ का उम्मेदवारले कम्तीमा कुल सदर मतको १० प्रतिशत अर्थात ६ हजार ८ सय १९ मत प्राप्त गर्नुपर्थ्यो । रास्वपाका उम्मेदवार खरेलले जम्मा २ हजार ८ सय २९ मत ल्याए ।









