चितवन । भोलि हुने चितवन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भएको छ । चितवन २ का ४३ निर्वाचनस्थलका एक सय ३८ वटै मतदान केन्द्रमा आवश्यक सबै तयारी पूरा भएको निर्वाचन कार्यालय चितवनले जनाएको छ । निर्वाचन कार्यालय चितवनका प्रमुख भिमसेन कार्कीले निर्वाचनमा सहभागी भई मतदान गर्न सम्पूर्ण आम मतदातामा अपिल गर्नुभएको छ । भोलि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानकार्य जारी रहनेछ ।
यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका छन् । तीमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् । यो निर्वाचन क्षेत्रमा भरतपुरका २९ वडामध्ये १० वडा, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका पर्दछन ।









