चितवन । वैशाख १० हुने चितवन क्षेत्र नं. २ को उपनिर्वाचनको दिन एम्बुलेन्स, चिकित्सक, स्वास्थ्यकर्मी लगायत अत्यावश्यक सेवाका सवारी सञ्चालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले आज एक सूचना प्रकाशित गरी यातायात व्यवस्था सम्बन्धी जानकारी दिएको हो ।
जारी सूचनामा बिरामी बोकेको एम्बुलेन्स, खानेपानीको ट्यांकर, दूध बोक्ने सवारी साधन, दमकल, शव वाहन, फोहोरमैला बोक्ने सवारी साधन, अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालको परिचयपत्र सहित चलेको सवारी साधन र सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास भएका पत्रकार सवारी साधन सञ्चालन हुन पाउने छन् ।
राष्ट्रिय राजमार्ग भएर आवतजावत गर्ने सवारी साधनको आवगमन सहजीकरण गर्ने सन्दर्भमा यस जिल्लाको मौवा खोला, मुग्लिङ्ग, पुलचोक तथा गोन्द्राङ चोक नाकामा चेकजाँच गर्ने व्यवस्था मिलाई सबै खालको सवारी साधनहरुलाई केहि समयको अन्तरालमा सुरक्षा निगरानी सहित समूहमा आवतजावत गर्ने व्यवस्था मिलाईने सूचनामा उल्लेख छ ।
यसैगरी नारायणी पुलमा पर्न सक्ने सवारी जामको असरलाई न्यूनीकरण गर्न छिमेकी जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) लाई गैडाकोटको उपर्युक्त स्थानमा सवारी साधनको चेकजाँच गरी लामो दुरीमा चल्ने सवारी साधन यकिन गरी समूहमा मात्र सुरक्षा निगरानी सहित नारायणगढ तर्फ पठाउने व्यवस्था मिलाईने व्यवस्था गरिएको छ ।
जिल्लासँग सिमा जोडिएका सम्पूर्ण जिल्लाहरुले यस जिल्ला हुँदै अन्यत्र गन्तव्य भएका सवारी साधनको जिल्लाको सिमा क्षेत्रमा विषेश चेकजाँच गर्न व्यवस्था मिलाउन सूचनामा भनिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि शर्माका अनुसार क्षेत्र नं. २ बाहेक क्षेत्र नं. १ र ३ सरकारी कार्यालय भने खुल्ला रहने छन् । ती क्षेत्रमा सवारी आवागमन पनि खुल्ला रहने छ । क्षेत्र नं. २ हुँदै जाने सरकारी कर्मचारीको हकमा परिचयपत्रका आधारमा पाईने उहाँको भनाई छ ।









