काठमाडाैं । नेपाल राष्ट्र बैंकले कार्यालय र बैंकिङ समय निर्धारण गर्दै २०८० सालमा बैंक बिदाको सूची सार्वजनिक गरेकाे छ । राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै २०८० सालमा हुने बैंक बिदाको सूची सार्वजनिक गरेको हो।
राष्ट्र बैंकले बिदाका किसिमलाई ‘क’ र ‘ख’ गरी दुई वर्गमा विभाजन गरेको छ। जसअनुसार ‘क’ पूरा दिनको बिदा र ‘ख’ आधार दिनको बिदा रहेका छन्। वर्षभरिको शनिबारको बिदालाई ‘क’मा राखिएको छ भने शुक्रबारको आधा दिनको बिदालाई ‘ख’मा राखिएको छ।
नेपाल सरकारले सार्वजनिक बिदाको घोषणा गरेमा नगद भुक्तानी, ईसीसी, राष्ट्र ऋण व्यवस्थापन तथा आरटीजीएसलगायतका अत्यावश्यक बैंकिङ सेवा न्यूनतम कर्मचारीको उपस्थितिमा बिहान १० बजेदेखि अपराह्न १ः३० बजेसम्म प्रवाह हुने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले २०८० वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा २०८० माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजदेखि अपराह्न ५ बजेसम्म बैंकहरुको कार्यालय समय रहने तोकेको छ। २०८० कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजदेखि अपराह्न ४ बजेसम्म कार्यालय समयरहने राष्ट्र बैंकले जनाएकाे छ। राष्ट्र बैंकले प्रत्येक शुक्रबार बिहान १० बजेदेखि अपराह्न १ः३० बजेसम्म कार्यालय समय रहने जनाएकाे छ ।
त्यस्तै, बैंकले २०८० वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा २०८० माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजदेखि अपराह्न ४ बजेसम्म बैंकिङ समय तोकेको छ। २०८० कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म बैंकिङसमय हुनेछ। प्रत्येक शुक्रबार बिहान १० बजेदेखि अपराह्न १२ः३० बजेसम्म बैंकिङ समय हुनेछ।
प्रदेश सरकारले आआफ्नो प्रदेशमा घोषणा गरेका बढीमा वर्षको ६ दिनसम्मको सार्वजनिक बिदामा सम्बन्धित प्रदेशमा रहेका कार्यालयमा सार्वजनिक बिदा हुने राष्ट्र बैंकले जनाएको छ। प्रदेश सरकारले आफ्नो प्रदेशभरि लागू हुने गरी ६ दिनभन्दा बढी सार्वजनिक बिदा घोषणा गरेमा र काठमाडाैं उपत्यकाका तीन जिल्लाको हकमा गृह मन्त्रालयले निर्णय गरेबमोजिम हुने राष्ट्र बैंकले जनाएकाे छ ।









