केन्द्रीय सत्ता गठबन्धनको प्रभावले प्रदेश सरकार डगमगाउन हुँदैन: एमाले उपमहासचिव गुरुङ

गोरखा । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले  केन्द्रीय सत्ता गठबन्धनको प्रभावले प्रदेश सरकार डगमगाउन नहुने  तर्क गरेका छन् । प्रेस चौतारी नेपाल, गोरखा शाखाले बुधबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गुरुङले  केन्द्रको प्रभाव प्रदेशमा पर्नु संघीयताको भावना बिपरीत हुने दाबी गरे ।

‘भारतमा केन्द्र सरकार जे भए पनि प्रदेश सरकारलाई प्रभाव पर्दैन । तर हाम्रो देशमा केन्द्र सरकार जुन पार्टीको गठबन्धनबाट सरकार बनेको छ, प्रदेशमा पनि त्यसकै प्रभाव पर्छ । माथिको समिकरण परिवर्तन हुनेबित्तिकै तल गन्ड्याङगुन्डुङ भइहाल्छ’, उनले भने, ‘यो गलत सिस्टम हो । केन्द्र सरकारको प्रत्यक्ष प्रभाव पर्ने भए संघीयताको के अर्थ ? अल्लि स्थिरता कायम गर्ने हो भने केन्द्र सरकारमा जुन गठबन्धन भए पनि प्रदेशलाई आफ्नै अनुकूलको समिकरण गर्न छाडिदिनुपर्छ ।’

यो अभ्यास स्थिरताका लागि, पालिकाका लागि, प्रदेशका लागि, संघीयताको मर्म र भावनाका लागि पनि उपयुक्त नभएको उनको भनाइ छ । केन्द्रको प्रभाव प्रदेशमा नपार्ने अभ्यास गर्न कसैको आँट नभएको उनको आरोप छ ।

नेपालको राजनीतिमा चीनको प्रभाव नपर्ने, भारतको मात्र प्रभाव पर्ने उनको दाबी छ । ‘पुस १० को गठबन्धनले दक्षिणतिरको शक्ति चकित प¥यो । र यो गठबन्धन रहेसम्म इण्डोप्साफिक रणनीति पनि सफल हुदैन, आइपिएस पनि अघि बढ्दैन, नेपालको राष्ट्रिय हितमा काम गर्ने सरकार आयो भने हाम्रो प्रभाव फितलो हुन्छ भनेर जसरी पनि यो तोड्न लागि परे’, उनले भने, ‘हामीले बिनाआधारको आरोप लगाएको होइन । हरेक घटनाले यसलाई प्रमाणित गरिरहेको छ ।’

शान्ति प्रक्रियाको कुरा झिकेर सँधै माओवादीलाई कमजोर बनाउने र त्यसबाट फाइदा उठाउने काम भारतले गरिरहेको उनको भनाइ छ । ‘अरु केही जोर चलेन भने आइसिसीको कार्ड फाल्छन् ।

आइसिसीको तरबार चलाउँछन्’, गुरुङले भने, ‘आइसिसीको तरबार देखेपछि माओवादीहरु त्यसैत्यसै आतंकित हुन्छन् । माओवादीको त्यो कमजोरी थाहा पाएपछि भारतले आइसिसीको कार्ड फाल्छन् अनि प्रचण्डजीहरु जसोजसो बाहुनबाजे उसैउसै स्वाहा गर्छन् ।’ यो अबस्था रहेसम्म मुलुकमा अस्थिरता रहिरहने उनले बताए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको