काठमाडौं । उपराष्ट्रपति तय गर्नका लागि ९ दलको बैठक जारी छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बालुवाटारमा बैठक बसिरहेको छ।
देशको नयाँ उपराष्ट्रपतिको आगामी चैत ३ गते हुने निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बिहान ९ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयनपत्र दर्ता हुने छ।
गठबन्धनभित्र जसपा र जनमतले आआफ्नो उम्मेदवार तय गरिसकेका छन्।
संविधानबमोजिम राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिंग वा समुदायबाट प्रतिनिधित्व हुने व्यवस्था छ। राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल खस आर्य समावेशी समूहका उम्मेदवार निर्वाचित भएकाले उपराष्ट्रपतिमा त्योभन्दा फरक लिंग वा समुदायको व्यक्ति हुनुपर्ने छ।
उम्मेदवारी दर्ताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत शर्माले जानकारी दिए। उपराष्ट्रपतिको निर्वाचन संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुनेछ।
उपराष्ट्रपति निर्वाचनमा मतदाताको सङ्ख्या संघीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ कायम छ। संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ।









