काठमाडौं । राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल आज पशुपतिनाथ मन्दिर दर्शन गर्न जाने भएका छन् । उनी आज बिहान ९ बजे पशुपति जाने कार्यक्रम छ । त्यहाँ उनले पूजापाठ गरेर प्रसाद ग्रहण गर्ने छन् ।
पौडेल पशुपति मन्दिर जाने भएपछि त्यहाँ बिहानैदेखि आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको गौशाला प्रहरीले जनाएको छ । पशुपति दर्शनपछि राष्ट्रपति पौडेल आज सुन्दरीजल जाने कार्यक्रम छ । सुन्दरीजलस्थित बीपीको शालिकमा माल्यार्पण गर्ने र संग्रहालय अवलोकन गर्ने कार्यक्रम रहेको पौडेलको सचिवालयले जनाएको छ ।
त्यसअघि बिहान ८ बजे पौडेलले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ । पौडेल बिहीबार गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति निर्वाचित भएका थिए । राष्ट्रपति निर्वाचित भएलगत्तै उनले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुको निवासमै पुगेर भेटवार्ता गर्दै आएका छन् ।









