काठमाडौं । नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार एवं पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आफ्नो नाममा राष्ट्रिय सहमति हुने विश्वासका साथ आफू राष्ट्रपतिको उम्मेदवार भएको बताएका छन्।
शनिबार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कार्यालयमा राष्ट्रपतिको उम्मेदवारी दर्ता गराइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू सबै हिसाबले संविधानको परिपालना गर्न लाग्ने दाबी गरे।
उनले स्वस्थ प्रतिस्पर्धालाई सम्मान र जगेर्ना गर्दै देशमा स्वस्थ आधार र वातावरण तयार गर्न आफ्नो भुमिका हुने बताए। उनले व्यवहारमा जनताको राष्ट्रपति अनुभूत हुने ढंगले काम गर्ने प्रतिवद्धता जनाए।
उनले भने, ‘सबै हिसाबले संविधानको परिपालना गर्न लाग्नेछु। आफ्नो नाममा राष्ट्रिय सहमति हुने विश्वास भएर नै उठिरहेको हो। स्वस्थ प्रतिस्पर्धालाई सम्मान र जगेर्ना गर्दै देशमा स्वस्थ आधार र वातावरण तयार गर्न लाग्नेछु। अब जनताको राष्ट्रपतिको व्यवस्था गरेका छौँ। व्यवहारमा जनताको राष्ट्रपति अनुभूत हुने ढंगले काम गर्ने मेरो प्रयास हुनेछ। हिजो संविधान सभामा रहँदा ३१ वटा राजनीतिक दलहरूको सर्वसम्मत अध्यक्ष भएर संविधान जारी गर्न भुमिका निर्वाह गरेँ। संविधानको संरक्षक हुने अवसर पाएको छु।’
संविधानसभा अध्यक्ष एवं पूर्व सभामुखसमेत रहेका उनले संविधानको संरक्षक हुने अवसर पाएको भन्दै संविधानको रक्षा गर्न लागि पर्ने बताए।
उम्मेदवार नेम्वाङको प्रस्तावकमा पार्टी अध्यक्ष केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुवीर महासेठ र छविलाल विश्वकर्मा रहेका छन् भने समर्थकमा योगेशकुमार भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका छन्।









