काठमाडौं । मंसिर ४ गतेको चुनाव हुनु केही दिनअघिसम्म एउटै गठबन्धनमा रहेका चार दलहरूको बैठक बिहीबार साँझ बस्दैछ।
राष्ट्रपतिको चुनाव सँगसँगै पुरानो गठबन्धन पनि ब्युँताउने नेपाली कांग्रेस र माओवादी केन्द्रको अनौपचारिक सहमतिपछि आज चार दलका नेताहरू बस्न लागेका हुन्।
नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका नेताहरूबीच बैठक बस्न लागेको हो।
‘आज साँझ बैठक बस्दैछ। ठाउँ टुंगो लागेको छैन,’ एकीकृत समाजवादीका एक नेताले भने।
चार दलको बैठकअघि जसपा नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित माओवादी केन्द्रका नेताहरूसँग बैठक गर्दैछन्। जसपा र माओवादीबीच दिउँसो ३ बजे कुराकानी हुने बताइएको छ।
यसअघि आजै प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सिंहदरबारमा भेटवार्ता गरेका थिए।









