छिमेकीहरू सरकार फेरफार गर्नुपर्छ भनेर लागेका छन्: एमाले अध्यक्ष ओली

काठमाडौँ ।  सत्तारुढ प्रमुख दल एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निर्माणमा छिमेकी देशले अनावश्यक चासो राखेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । संघीय सांसदहरूलाई प्रशिक्षण दिन आयोजित कार्यक्रममा अध्यक्ष ओलीले बाह्य शक्तिले सरकार गठनमा अनावश्यक चासो राखेको बताएका हुन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा शनिबार आयोजित कार्यक्रममा ओलीले भने, ‘यो नेपालीले बनाएको सरकार हो । यो परिवर्तनको सन्दर्भमा हामी नेपालीले सरकार बनाएका छौं । नेपालीलाई सरकार बनाउन नदिने चाँजोपाँचजो थियो ।’

सरकार गठन गर्नु नेपाली स्वाधिनताका लागि महत्वपूर्ण भएको ओलीको भनाइ थियो । उनले सरकार गठनका क्रममा विभिन्न कूटनीतिक मान्यता विपरीतका कार्य भएको पनि बताए । सरकारी गठनका क्रममा भएका त्यस्ता कुरालाई राजनीतिक दलहरूले प्रतिरोध गरेको ओलीको भनाइ थियो । उनले बाह्य हस्तक्षेपविरुद्ध उठेर सरकार गठन गरेको बताए । ‘हामी सार्वभौम सत्ता सम्पन्न राष्ट्र हौं भन्ने कुराको अनुभूति, यो सानो कुरा होइन । नेपाली जनता अहिले किन खुसी छन् यसै कारण कि नेपालीले सरकार बनाएको छ,’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा सरकार गठन भएको विषयमा ओलीले भने, ‘अहिले पनि हाम्रा मित्रहरू ढोकाबाट होइन पर्खाल माथिबाट हाम्रो कम्पाउन्डमा पसेर सरकार यसरी बनाउन कहाँ पाइन्थ्यो, फेरफार गर्नुपर्छ भनेर लागेका छन् ।’

प्रधानमन्त्री दाहालले पुस २६ गते संसद्बाट विश्वासको मत लिँदैछन् । त्यसलाई असफल बनाउन प्रमुख प्रतिपक्षमा पुगेको नेपाली कांग्रेस लागेको सूचना सार्वजनिक भएको अवस्थामा सत्तारुढ गठबन्धनका प्रमुख नेता ओलीले भने, ‘यस्तो खालको क्रियाकलापको अपेक्षा गर्दैनौं । हामीले हाम्रो राष्ट्र आफ्नो ढंगले चलाउँछौ । जे सहयोग गर्न सक्नुहुन्छ गर्नुस् तर आन्तरिक मामिलामा हात हाल्ने काम नगर्नुस् ।’

नेपालले कुनै पनि विदेशी मुलुकको आन्तरिक राजनीतिमा चासो नराख्ने र विदेशी मुलुकले पनि त्यस्तो गर्न नहुने ओलीको भनाइ थियो । उनले नेपालमा जुन सरकार बन्यो त्यससँग मिलेर काम गर्न छिमेकी मुलुकहरूलाई आग्रह गरेका छन् । उनले भने, ‘हामी कसैमाथि अर्घेल्याउँ गर्न गएका छैनौं, हामीमाथि पनि अर्घेल्याइँ नहोस् । हामी हाम्रा छिमेकीहरूलाई जो सरकार बन्छ त्योसँग मिलेर काम गर्न आग्रह गर्छौं । हामी सबै छिमेकीसँग सन्तुलित सम्बन्ध राखेर अगाडि बढ्न चाहन्छौं ।’

एमालेले प्रतिनिधिसभामा निर्वाचित संघीय सांसदहरूलाई दुई दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।ekantipur

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको