काठमाडौं । संघीय संसद् सचिवालयले पुस २२ गतेका लागि सर्वदलीय बैठक बोलाउने तयारी गरेको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सर्वदलीय बैठक आह्वान गर्ने तयारी गरिएको सचिवालयले जनाएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिसकेकी छन् । त्यसै कारण बैठक सञ्चालन, प्रतिनिधिसभा बैठकमा दलले बोल्न पाउने समय बाँटफाँटका विषयमा छलफल गर्न राणाले पुस २२ गतेका लागि बैठक बोलाएको सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले नेपाल प्रेसलाई जानकारी दिए ।
उनका अनुसार सभामुखको निर्वाचनको नहुदाँसम्म बैठक सञ्चालन गर्ने प्रक्रिया, सभामुखको निर्वाचन प्रक्रियाका लागि प्रतिनिधि सभाको नियमावली अनुमोदन गर्ने लगायतका विषयमा छलफल हुनेछ ।
हालै सम्पन्न निर्वाचनमा प्रतिनिधिसभामा १२ वटा दलको प्रतिनिधित्व भएको छ । यस्तै, पाँच जना स्वतन्त्र सांसद निर्वाचित भएका छन् । सात वटा दल मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् । संसदमा नेपाली कांग्रेसका ८९, नेकपा (एमाले)का ७८, नेकपा (माओवादी केन्द्र)का ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, नेकपा (एकीकृत समाजवादी)का १०, जनमत पार्टीका ६, लोसपाका चार र नागरिक उन्मुक्ति पार्टीका तीन सांसद रहेका छन् ।









