काठमाडौं । गृह मन्त्रालयको निर्देशनपछि पूर्वकर्मचारी र सुरक्षाकर्मीको निजी निवासमा मापदण्डविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता हुन थालेको छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सचिवालयका अनुसार अहिलेसम्म नेपाल प्रहरीका १०३ र सशस्त्र प्रहरी बलका ९१ जना सुरक्षाकर्मी गरी १९४ जना सुरक्षाकर्मी फिर्ता भई प्रहरी/सशस्त्र प्रहरी प्रधान कार्यालय नक्सालमा हाजिर भएका छन ।
गृहमन्त्री लामिछानेको निर्देशनपछि मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरेर बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले व्यक्तिगत सुरक्षाका लागि पाएको सुरक्षाकर्मीमा मापदण्ड विपरीत भए फिर्ता गर्न भनेको थियो ।
त्यसअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले कर्मचारी र सुरक्षाकर्मीको व्यक्तिगत सुरक्षामा मापदण्ड विपरित खटिएका प्रहरीलाई फिर्ता गरेको हो । राजनीतिक क्षेत्रका विशिष्ट व्यक्तिहरुले पनि मापदण्ड विपरित सुरक्षाकर्मी राखेका छन् । तर, मन्त्रालयले उनीहरुको हकमा केही बोलेको छैन ।
तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नेताहरुको सुरक्षामा मापदण्ड विपरित खटिएकालाई पनि फिर्ता बोलाउने निर्णय भएको थियो । त्यही अनुसार हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सुरक्षा खोसिएपछि उहाँले आफ्नो सुरक्षामा जनमुक्ति सेना राख्नुभएको थियो ।
पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सुरक्षाकर्मी कम भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको थियो । सर्वाेच्च अदालतको परमादेशबाट कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि भने मापदण्डविपरीत सुरक्षाकर्मी राखिएको थियो । लामिछाने गृहमन्त्री भएलगत्तै पूर्वकर्मचारी र सुरक्षाकर्मीका निवासमा खटाइएका प्रहरी फिर्ता बोलाइएको हो ।









