काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच भेट गराउने भेट गराउन नेताहरू सक्रिय भएका छन् ।
नेपाल नेतृत्वको नेकपा एसको १० सीटसहित थपेर एमालेलाई प्रतिनिधि सभाको पहिलो दल बनाउनेसम्मको तयारीका साथ नेताहरू वार्तामा छन् । दुवै नेताबीच तत्कालै भेट गराउन पहल भइरहेको छ ।
उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले माधव नेपालसँग छलफल गरेर दुई नेताबीच वार्ताको पहल गरेका छन् । यसअघि उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पनि नेपाललाई भेटेर एमालेमा फर्किन आग्रह गरेका थिए । सुवास नेम्वाङदेखि महेश बस्नेतसम्मका नेताहरू माधव नेपालसँग संवादमा छन् ।
अहिले एमालेको ७८ सीट छ । नेकपा एसको १० सीट थपिदा कांग्रेसको बराबर ८८ सीट हुनेछ । कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बित भएकाले उसको ८९ सीटबाट एक सीट घटेको हो । एमालेले जसपालाई मोरङ ५ छाडेपछि स्वतन्त्र उठेर जितेका योगी मण्डल पार्टीमा फर्किन तयार छन् ।
यदि एमालेमा नेकपा एस समाहित भएमा योगीसहित ९० सीटको सबैभन्दा ठूलो दल बन्नेछ भने रौतहट २ बाट निर्वाचित स्वतन्त्र सांसद किरण साह पनि एमालेमा समाहित हुने सम्भावना छ । संसद्को पहिलो दलको हैसियतमा पुनः फर्किनका लागि एमालेलाई नेकपा एस आवश्यक परेको भने नेकपा एसको अस्तित्व रक्षाका लागि एमालेमा फर्किने बाटो खोजिरहेका छन् नेताहरू ।
यसअघि माधव नेपालले माओवादी केन्द्रसँग पार्टी एकता हुनसक्ने तर एमालेसँग नहुने भने पनि प्रचण्ड बालकोट गएसँगै परिस्थिति फेरिएको छ । नेकपा एसका अधिकांश नेता कार्यकर्ता एमालेमा फर्किन चाहन्छन् । सांसद भएकाहरू तत्काल पार्टी एकताभन्दा पहिले सत्ता गठबन्धनमा सहभागी भएर मन्त्री बन्न चाहान्छन् ।
एमालेमा फर्किएपछि केपी अोलीको खटनपटनमा मन्त्री बन्न नपाइने भय उनीहरुमा छ । तर सांसद नभएका नेताहरू भने एमालेमा फर्किने सम्मानजनक उपाय खोजिरहेका छन् । उनीहरुले माधव नेपाललाई केपी ओलीसँग वार्ता गरेर टुंगो लगाउन र कुण्ठा तथा इगो नराख्न दबाब दिइरहेका छन् ।
नेकपा एसका बरिष्ठ नेता मुकुन्द न्यौपानेले विनाशर्त एमालेसँग मिल्नुको विकल्प नरहेको बताए । उनले माओवादीसँग एकता गर्ने यसअघिको निर्णयमा आफूले राखेको फरकमतलाई समयले पुष्टि गरेको भन्दै नेताका कुण्ठा र दम्भले एकता रोकिन नहुने बताए ।
उनले एमालेसँग नमिल्ने हो भने नेकपा एसको कुनै भविष्य नरहेको समेत बताएका छन् ।
प्रचण्डले आफूलाई नसोधी ओलीसँग मिल्न गएकोमा माधव नेपालले चित्त दुःखाएका थिए । तर प्रचण्डले नेपाललाई आज विहान भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका छन् । नेपाल एमाले नेतृत्वको गठबन्धनमा सहभागी हुन तयार छन् तर केपी ओलीले पनि आग्रह गरुन् भन्ने चाहान्छन् ।
नेपालसँग संवाद गरिरहेका एक एमाले नेताले भने–माधव नेपालको पार्टीलाई सरकारमा सहभागी गराउनेमात्र कुरासँग हाम्रो सरोकार होइन । संख्या उनी नभए पनि पुगेकै छ । तर एमालेलाई सबैभन्दा ठूलो दल बनाउने सन्दर्भमा पार्टी एकताको नाम दिए पनि नदिए पनि उनीहरुलाई एमालेमै फर्काउने कि भन्ने छलफल भने चलेकै छ । केपी ओली र माधव नेपालबीच छलफल भएपछिमात्र यसको टुंगो लाग्छ ।
ओली र नेपालबीच यसबीचमा सामान्य संवाद भए पनि तत्कालीन नेकपा एमालेमा १० बुँदे सहमति अगाडि मेरियट होटलमा दुईपटक एक्ला एक्लै भएको भेटपछि कुनै राजनीतिक संवाद भएको छैन । एमालेको सरकार ढाल्नका लागि माधव नेपालले २४ जना सांसद लिएर अध्यादेशमार्फत पार्टी फुटाएकोमा ओलीले सधैं चित्त दुःखाउदै आएका छन् ।
अर्कातिर माधव नेपाल मानसम्मान चाहने नेता हुन् । उनले बारम्बार आफू अपमान सहन नजन्मिएको बताउने गरेका छन् । उनका प्रायः भाषणमा अपमान भयो,मान पुगेन भन्ने गरेका छन् । आफू नेता हुँ भन्ने कुरा सबैले मानुन् भन्ने नेपालको चाहना व्यक्त हुने गरेको छ । ओलीबाट आफू अपमानित भएको नेपालको गुनासो छ ।
यदि केपी ओलीले नेपाललाई भेटेर ‘जे भयो भयो,अब मिलौं’ भन्ने हो भने नेकपा एस एमालेमा समाहित हुन अरु कुनै सैद्धान्तिक व्यवधान नरहेको नेताहरू बताउछन् । सम्भवतः आज वा भोलिसम्म ओली र नेपालबीच वार्ता हुने संवादमा सक्रिय रहेका एक नेताले बताए । nepalpress









