काठमाडौँ । सरकारमा सामेल हुने तयारीमा रहेका जनमत पार्टीका अध्यक्ष सिके राउतले उद्योग वा कृषि मन्त्रालय पाए राम्रो काम गर्न सक्ने बताएका छन् । सत्ता गठबन्धनको ११ बजे बस्ने बैठकमा राउतले यस्तो प्रस्ताव गर्ने तयारी गरेका छन् ।
अध्यक्ष राउतले भने, ‘अहिले ११ बजे सत्ता गठबन्धनको बैठक बस्दैछ । हामीले आन्तरिक रुपमा उद्योग वा कृषि मन्त्रालय पायौं भने राम्रो हुन्छ भन्ने हो । ‘
सत्ता गठबन्धनको बैठकपछि आफ्नो पार्टीको आन्तरिक बैठक बसेर सरकारमा को सामेल हुने भन्ने बारेमा पनि निर्णय गरिने उनले बताए । प्रतिनिधिसभामा ६ सिट रहेको जनमत पार्टीले मधेस प्रदेशमा समेत सत्ता साझेदारीका लागि तयारी गर्दै छ ।









