कांग्रेस पूर्वउपसभापति निधि र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेट

काठमाडौं । नेपाली कांग्रेसका पूर्व उपसभापति विलमेन्द्र निधि र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटघाट भएको छ।

हालै सम्पन्न निर्वाचनमा सप्तरीबाट विजयी भएका अध्यक्ष राउत र कांग्रेस नेता निधिबीच निधि निवास नयाँवानेश्वरमा भेटघाट भएको हो। निधिले निर्वाचनमा सफलता हासिल गरेकोमा राउतलाई बधाई दिएका थिए।

बुधबार दिउँसो भएको करिब एक घण्टा लामो भेटमा निधि र राउतबीच मुलुकको समसामयिक राजनीतिका विषयमा कुराकानी भएको थियो।

भेटमा हालै सम्पन्न निर्वाचन र नयाँ सरकार गठन लगायतका विषयमा पनि कुराकानी भएको निधिको सचिवालयले जनाएको छ।

निधिसँगको भेटमा राउतले आफ्नोबारेमा अनावश्यक भ्रम फैलाइएको बताउँदै आफू शान्ति र लोकतन्त्रमा विश्वास गर्ने प्रजातन्त्रवादी भएको र कांग्रेससँग सहकार्य गर्न तयार रहेको प्रष्ट पारेका थिए।

भेटमा निधिले राउतलाई कांग्रेस र सत्ता गठबन्धनमा सहभागी हुन प्रस्ताव गरेका थिए। निधिको प्रस्तावमा सहमति जनाउँदै राउतले संघ र प्रदेश सरकार गठनमा सहभागी हुन आफू पूर्ण रूपमा सकारात्मक भएको जवाफ दिएका थिए।

सप्तरी क्षेत्र नं २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर मतान्तरले हराउँदै राउत निर्वाचित भएका हुन्।
प्रत्यक्षतर्फ एक सिट जितेको जनमत पार्टीले समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएर चार सिट सुरक्षित गरेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको