काठमाडौँ । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ३ को मतगणना बिहान नौ बजेदेखि सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको आइतबार सम्पन्न निर्वाचनमा यो क्षेत्रमा ३९ हजार ५६ मत खसेको छ । बिहान आठ बजे सर्वदलीय बैठक बसी नौ बजेदेखि प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्ष एवं समानुपातिक गरी चार ठाउँमा मतगणना सुरु भएको निर्वाचन अधिकृत मन्दिरा शाहीले राससलाई जानकारी दिनुभयो
यो निर्वाचन क्षेत्रमा ५८ हजार ८८९ मतदाता रहेका थिए । यस क्षेत्रमा आइतबार २९ मतदान स्थलका ६८ केन्द्रमा मतदान भएको थियो । यो क्षेत्रमा काठमाडौँ महानगरपालिकाको वडा नं ६, गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाका वडा नं १, २ र ३ वडा पर्छन् ।
यो क्षेत्रमा नेपाली कांग्रेसका सन्तोष चालिसे, नेकपा (एमाले) का कृष्णबहादुर राईसहित विभिन्न दल र स्वतन्त्र गरी २३ उम्मेदवार प्रतिनिधिसभा सदस्यको प्रतिस्पर्धामा हुनुहुन्छ ।
त्यस्तै काठमाडौँ क्षेत्र नं ६ को मतगणना शुरु भएको छ । सो क्षेत्रको मतगणना स्थल धर्मस्थलीमा आज बिहान १० बजेदेखि मतगणना शुरु भएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिनुभयो ।
प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन आइतबार सम्पन्न भएको हो । सो क्षेत्रमा नेकपा (एमाले) का सर्वेन्द्र खनाल, नेपाली कांग्रेसका भीमसेनदास प्रधान र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाललगायतका उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ ।
त्यस्तै केही बेरअघिदेखि काठमाडौँ क्षेत्र नं १ को पनि मतगणना शुरु भएको छ । त्यस क्षेत्रमा कांग्रेसका प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राप्रपाबाट रवीन्द्र मिश्र र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमलगायतका उम्मेदवार हुनुहुन्छ ।-रासस









