बडादसैँको आज नवौँ दिन: सिद्धिदात्रीको पूजाआराधना गर्दै महानवमी मनाइँदै

काठमाडौँ । बडादसैँको नवौँ दिन आज देशभर शक्तिस्वरूपा दुर्गा भवानीको पूजाआराधना गरी महानवमी पर्व मनाइँदै छ ।आज शक्ति स्वरुपा भवानी माता सिद्धिदात्रीको पूजाआजा गरिंदै छ ।

सिद्धिदात्री मातालाई विजय र दानकी प्रतीक मानिएको छ । घटस्थापनाका दिन आ–आफ्नो घरमा विधिर्पूवक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइने प्रचलन छ । महानवमीका अवसरमा आज दसैँघर र कोत लगायत विभिन्न देवीका मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा, भेंडा र राँगाको बलिसहित विशेष पूजाअर्चना र र्दुगा सप्तशती पाठ गरिन्छ ।

शाकाहारीहरूले भने कुभिन्डो, घिरौँला र मूला लगायतको बलि दिने र नरिवल तथा पायस चढाउने गर्छन् । पुराण अनुसार महानवमीका दिन चामुण्डादेवीले रक्तबीज असुरको संहार गरेकाले यो पर्वलाई विशेष महत्वका साथ लिइन्छ ।

आज कोतहरूमा हर्षढाइँका साथ कोतपूजा र निशान पूजा पनि गरिन्छ । महानवमीका अवसरमा बिहान हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा बाजागाजासहित बलि दिएर जङ्गी निशानपूजा तथा कोतपूजा गर्ने चलन छ ।

हनुमानढोकाको दसैँ घर लगायत कतिपय समुदायले हिजो महाअष्टमीको मध्यरातमा शक्तिस्वरूपा र्दुगा भवानीको पूजाअर्चनाका साथ आ–आफ्नो परम्पराअनुसार राँगा र बोकाको बलि दिई कालरात्री मनाएका छन् । आजै औजार, हतियार र सवारी साधनलाई पनि बलि दिएर पूजा गर्ने चलन छ ।

यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरूको पनि पूजाआजा गरिन्छ । काठमाडौंको तलेजु भवानीको मन्दिर पनि यस दिन सर्वसाधारणको लागि खुल्ला रहन्छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको