आधुनिक प्रविधिले हराउँदै ‘पिङ’ संस्कृति

भोजपुर । पहिले बाँसको लिङ्गो गाडेर बाँबियोको डोरीले पिङ लगाएपछि गाउँघरमा दसैं तिहार भित्रिएको भान हुन्थ्यो। दसैं बिदामा गाउँ फर्कने परदेशी, आफन्त, इष्टमित्रलाई पिङको स्वाद नचाखी मन भरिन्थेन।

पिङ खेल्न बुढाबुढीदेखि केटाकेटीसम्म भेला हुन्थे। रमाइलो जमघट गराउने पिङ नै एउटा विकल्प बन्थ्यो, केही वर्ष अघिसम्म।

तर हिजोआज यो सुस्ताउँदै गएको छ। आधुनिक डिजिटल प्रविधिप्रति गहिरो लगाव र विदेशी संस्कृतिको बढ्दो मोहले गाउँघरमा पिङ संस्कृति हराउँदै गएका छन्।

दसैं तिहारसँगै जोडिएर आउने गाउँघरको पहिचान पिङलाई लिङ्गेपिङ, काठे रोटेपिङ जस्ता नामले चिनिन्छ। नयाँपुस्तामा विदेशी संस्कृति भित्रिएसँगै विलासी वस्तुको लगावले पिङको रौनकता सेलाउँदै गएको अरुण गाउँपालिका चरम्बीकी संगीता कुमाल बताउँछिन्।

‘दुईचार वर्ष अघिसम्म दसैं तिहार आउने बितिक्कै लिङ्गेपिङ हालिन्थ्यो, खेलिन्थ्यो, रमाइलो गरिन्थ्यो तर मोबाइल, इन्टरनेट, सामाजिक सञ्जाल आएपछि पिङको मोह घटेको छ,’ उनले भनिन्, ‘हिजोआज गाउँघरमा पिङ लगाउनमा कसैको खासै चासो पनि छैन, अब त चाडबाड पनि खल्लो हुन थालेको छ।’

पछिल्लो पुस्तामा हातहातमा मोबाइल, गाउँगाउँमा इन्टरनेटको पहुँच र बढ्दो सामाजिक सञ्जालको मोहले पिङ संस्कृति लोप हुँदै गएको जानकारहरू बताउँछन्।

फेसबुक, भाइबर, ट्विटर, इमोजस्ता धेरै सामाजिक सञ्जालको माध्यमबाट देश विदेशमा रहने आफन्तसँग दसैं तिहारको शुभकामना सजिलै आदानप्रदान हुन्छ। जसका कारण पछिल्लो पिँढीमा पिङ संस्कारप्रतिको चासो घट्न थालेको स्थानीय संग्राम किराँतीको ठहर छ।

मौलिक पहिचान बोक्ने संस्कृतिको जगेर्ना गर्नुपर्ने चासो नहुनाले पनि विदेशी संस्कृति मौलाउँदै गएको टेम्केमैयुङ गाउँपालिका छिनामखुका राजन राईको बुझाइ छ।

उनले भने, ‘दसैं तिहारसँगै जोडिने अर्को नाम पिङ पनि हो, नयाँ प्रविधिको सही प्रयोगसँगै हाम्रा संस्कृति र पहिचानलाई पनि सँगै लानुपर्छ, पुर्खाहरूदेखि सुरु भएको हाम्रो मौलिकतालाई जगेर्ना गरिएन भने भोलि हाम्रो पहिचान पनि नबिलाउला भन्न सकिन्न।’

प्रविधिले फड्को मारेसँगै पछिल्लो समय पिङ हाल्ने संस्कृति क्रमिक रूपमा हराउँदै गएको छ। सहर बजारभन्दा विशेषगरी ग्रामीण समुदायको संस्कृतिसँग जोडिने पिङ संस्कृतिको महत्वलाई नयाँ पिँढीले नै जोगाउनुपर्नेमा भोजपुर नगरपालिका-५, बोखिमका स्थानीय कुमार साम्पाङ राई जोड दिन्छन्।

‘सधैं नयाँ प्रविधि नयाँ विकास भनेर मात्रै हुँदैन, संस्कृति पनि महत्वपूर्ण पाटो हो, नयाँपुस्ताले नै चासो दिएनन् भने भावी पिँढीले झन के सिक्लान्,’ उनले थपे।

प्रविधिको विकाससँगै दुरदराजका ग्रामीण समुदायमा प्रविधिकै कारण अघिल्लो पुस्ताले अवलम्वन गर्दै आएका संस्कार, संस्कृति पछिल्लापुस्ताले वेवास्ता गर्नाले धेरैजसो मौलिक संस्कृतिहरू धरासायी तथा केही लोपसमेत भएका छन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको