शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड

काठमाडौँ I नवरात्रको छैटौँ दिनका अवसरमा देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड बढ्न थालेको छ । सामान्य अवस्थामा पनि बुधबार, बिहीबार, शुक्रबार र शनिबार देवी मन्दिरमा भीड लाग्ने गरेकामा आज दसैँको छैटौँ दिनको शनिबार परेकाले भक्तजनको लर्को लागेको हो । राजधानीका गुह्येश्वरी, जय बागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, बगलामुखी, टोखा चण्डेश्वरीलगायत मन्दिरमा भक्तजनको भीड छ ।

शक्तिपीठ तथा देवी मन्दिरलाई ध्वजापताकाले सिँगारिएको छ । देवीका भजन, मङ्गल धुन तथा देवी स्तोत्र वाचनले भक्तजनलाई मन्त्रमुग्ध बनाउँछ । मैतीदेवी मन्दिर छिर्ने सडकमा आकर्षक द्वार निर्माण गरेर भक्तजनलाई मन्दिरमा स्वागत गरिएको छ । बिहानैदेखि भक्तजन पूजा, आराधना एवं दर्शनका लागि लाममा बसेका थिए ।

नवरात्रका अवसरमा कम्तीमा पनि नौ वटा देवी मन्दिरमा दर्शन गर्नुपर्ने भन्दै केही भक्तजनले प्रत्येक दिन फरक फरक शक्तिपीठमा जाने गरी योजना बनाएको जनाएका छन् । कति भक्तजन राजधानीका शक्तिपीठमा दर्शन गरी बाहिरका देवी मन्दिरमा पनि दर्शनका लागि जाने तयारी गर्दै छन् ।रासस

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको