
काठमाडौँ । सत्ता गठबन्धनबीच प्रतिनिधिसभा निर्वाचनको भागबण्डा अन्तिम चरणमा पुगेको छ। प्रतिनिधिसिभाको कुल १६५ सिटमा कांग्रेसले ८६ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने सहमति भएको छ। बाबुराम भट्टराई नेतृत्वको नेसपासहित माओवादीलाई ५३ सिट, एकीकृत समाजवादीले भने १७ सिट पाउने लगभग टुंगिएको छ।
केही ठाउँमा दुई वटा दलले दाबी कायम राखेको त्यो पनि सहमतिकै आधारमा भागबन्डा गरेर मिल्ने नेताहरूले बताएका छन्। नेताहरूको अनुसार अब सिट बाँडफाँट टुंगिन धेरै समय लाग्ने छैन। करिब २ महिनाको छलफलपछि सिट बाँडफाँट सहमति उन्मुख भएको छ।
गठबन्धनको बुधबार बसेको बैठकमा कांग्रेसले ८६ सिट पाउने सहमति हुनुका साथै तीमध्ये अधिकांश क्षेत्रको भागबण्डा टुंगिएको छ।
कांग्रेसले पाउने निर्वाचन क्षेत्रमा कञ्चनपुर-३, कञ्चनपुर-२, डडेलधुरा, दार्चुला, कैलाली- १, ४, ५, अछाम–२, बाजुरा, सुर्खेत- १ र २, दैलेख-२, मुगु, नवलपरासी पश्चिम–२, बर्दिया-१ रहेको छ। दैलेख-१ मा भने एकीकृत समाजवादीको पनि दाबी छ।
यसैगरी चितवन- १ र २, गोरखा-१, मनाङ, कास्की-१, तनहुँ-१ र २, स्याङ्जा-१ र २, नवलपरासी पूर्व-१ र २, मनाङ, म्याग्दी, पर्वत, गुल्मी-१, पाल्पा-१, अर्घाखाँची, रुपन्देही-३,४ र ५, कपिलबस्तु–२, ३, दाङ-३ र बाँके-३ निर्वाचन क्षेत्रबाट पनि कांग्रेसले उम्मेदवारी दिने सहमति भएको छ।
पाँचथर, इलाम-२, झापा–१,३ र ४, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ-१,२,३ र ६, सुनसरी–२,३ र ४, ओखलढुंगा, उदयपुर–१, सप्तरी–३, ४, सिरहा–१, २ धनुषा- २, ३ र ४ महोत्तरी–२ र ३ निर्वाचन क्षेत्र पनि कांग्रेसले लिने सहमति भएको छ।
यस्तै सर्लाही-४, बारा- १, पर्सा-३ र ४, सिन्धुली-१, रसुवा, धादिङ-२, नुवाकोट–२, काठमाडौं–१, १०, ३,४,५,६, भक्तपुर–१ र २, ललितपुर–१, काभ्रे–२ सिन्धुपाल्चोक–२ र मकवानपुर-१ कांग्रेसले लिने बताइएको छ।
जसमध्ये कांग्रेसले पाउने भनिएको धनुषा–४ मा जसपा, महोत्तरी–३ मा पनि जसपाको दाबी कायमै छ भने गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेसले दोलखा वा रामेछापमध्ये एक निर्वाचन क्षेत्र पनि पाउने सहमति छ।
गठबन्धनमा सहमति गरे पनि कांग्रेसभित्रको विवादले सभापति शेरबहादुर देउवा भने अप्ठ्यारोमा छन्। डा।शेखर कोइराला पक्षलाई पेलेर अघि बढेका देउवा सत्ता गठबन्धनमा भने नरम देखिए। यो थाहा पाएको शेखर समूहले आफ्नो पक्षले ४० प्रतिशत भाग पाउनुपर्ने अडान राखेको छ। आन्दोलनमै उत्रिएको छ। दबाब भेला तथा पार्टी कार्यालयमै धर्नाको कार्यक्रम यो समूहले गरिसकेको छ।
समानुपातिकतर्फको बन्दसूचीमा देउवाले एकलौटी गरेको, प्रत्यक्षतर्फ पनि ४० प्रतिशत सिट पाउनुपर्ने नभए देशैभर गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवार खडा गर्ने कडा चेतावनी यो समूहले दिएको छ। आज (बिहीबार) पनि यो समूहको रणनीतिक भेला बस्दैछ।
यस्तै माओवादीलाई गोरखा-२, रोल्पा, दाङ-२, बाँके-१, बर्दिया-२, नवलपरासी पश्चिम-१, जुम्ला, कालीकोट, जाजरकोट, हुम्ला, रुकुम पश्चिम, अछाम-१, झापा-२, ५, भोजपुर, ताप्लेजुङ, मोरङ-४, ५, सोलुखुम्बु, उदयपुर-२, सिरहा-३, धनुषा-१, महोत्तरी-१, सर्लाही-३, सिन्धुली-१, नुवाकोट-१, काठमाडौँ-२, काठमाडौँ-९, काभ्रे-१, सिन्धुपाल्चोक-१, चितवन-३, लमजुङ, कास्की-१ वा ३, बागलुङ-२, कपिलवस्तु-१, रुकुम पूर्व, कैलाली-२ र ३ बैतडी, कञ्चनपुर-१ दिने सहमति भएको छ।
यस्तै एकीकृत समाजवादीले इलाम-१, रौतहट-१, बारा-४, धादिङ-१, काठमाडौँ-८, ललितपुर-२, मकवानपुर-२, कास्की-२, गुल्मी-२, पाल्पा-२, रुपन्देही-२, दाङ-१, डोल्पा, दैलेख-१, अछाम-१, बझाङ र डोटीमा उम्मेदवार उठाउने सहमति भएको छ।
बारा-४, धादिङ-१ र अछाम-१ को मा अन्य दलले पनि दाबी गरेको तर एकीकृत समाजवादीलाई छोड्न दलहरू सहमतिउन्मुख रहेको बताइएको छ।
जसपाले अहिलेसम्म १३ सिट पाउने सहमति भएको छ। जसअनुसार सुनसरी-१, सप्तरी-१, सिरहा-४, महोत्तरी-४, सर्लाही-१, रौतहट-३, बारा-२, ३, पर्सा-१ र २, काठमाडौँ-७, बाँके-२ र सप्तरी-२ पाउने सहमति भएको हो। जसपाले धनुषा-३ मा समेत दाबी गरिरहेको छ। जसमा कांग्रेसले पनि गरेको दाबी गरेको छ। महोत्तरी-३ र रुपन्देही-१ मा जसपा र माओवादीको पनि दाबी छ। त्यसमा सहमति हुन बाँकी छ। राष्ट्रिय जनमोर्चाले भने बागलुङ-१ र प्युठान पाउने सहमति भएको छ।
भागबण्डालाई अन्तिम रूप दिने भने बाँकी नै रहेको नेताहरूले बताएका छन्।-हिमाल प्रेस