
गोरखा । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई चुनावी राजनीति नगर्ने मनस्थितिमा पुगेका छन् । केही दिनयता डा भट्टराईले आफू निकटस्थहरूसँगको छलफलमा आफू पार्टी राजनीति र विचार निर्माणमा केन्द्रित हुने मनसाय व्यक्त गर्न थालेका छन् ।
उनले पार्टी पंक्तिमा आफू प्रत्यक्ष चुनाव नलड्ने र समानुपातिकमा पनि नबस्ने योजना सुनाइरहेका छन् । ‘उहाँ (डा भट्टराई) अब सत्ता राजनीतिबाट टाढा बस्ने र पार्टी राजनीति र विचार निर्माणमा केन्द्रित हुनेगरी अगाडि बढ्ने सोचमा हुनुहुन्छ’, एक नेता भन्छन्, ‘७० वर्ष पुग्ने बेलामा नयाँ पुस्तालाई छाडिदिनुपर्छ र हामीले राजनीतिक वैचारिक रूपमा नयाँ पुस्तालाई सघाउनुपर्छ भन्नुभएको छ ।’