
काठमाडौं । काठमाडौं उपत्यकाको तीन ठाउँमा आगलागी भएको छ ।
काठमाडौंको कपन र न्यू प्लाजा (पुतलीसडक) तथा ललितपुरको बागडोलमा आज आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ भने केही घाइते अवस्थामा उपचाररत छन् । साथै आगलागीबाट करोडौंको क्षति पनि भएको छ ।
काठमाडौंको कपनस्थित एक घरमा भीषण आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । राममन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी भएको थियो ।
कार्यालयमा रहेको अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो क्षति भएको छ । उक्त घटनामा परी घाइते केहीको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै ललितपुरको बागडोलमा रहेको एक कवाडी गोदाममा पनि आज आगलागी भएको छ । स्थानीय प्रकाश खत्रीको जग्गामा भाडामा रहेको बच्चा साहको कागजको कवाडी गोदाममा करेन्ट सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।
सेना, प्रहरी, शसस्त्र प्रहरी र उपत्यकाका चार वटा दमकलको मद्दतले दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । आगलागीका कारण शिव नारायण पोदार, राम आशिष साह गम्भीर घाइते भएका छन् भने गणेश गुरुङ्ग घाइते भएका छन् ।
उक्त आगलागीमा ठूलो क्षति भए पनि विवरणहरू यकिन गर्न बाँकी रहेको प्रहरीले बताएको छ ।
यसैगरी काठमाडौंको न्यू प्लाजा अगाडि रहेको बिजुलीको पोलमा पनि आज आगलागी भएको छ । पोलमा बेरिएका तारको गुजुल्टोबाट आगो सल्किएको थियो ।
दमकल प्रयोग गरी उक्त आगो निभाइएको थियो । बिजुलीका पोलमा अव्यवस्थित तरिकाले राखिएका तारमा सट भएर आगलागीका घटना हुने गरेका छन् । तर तार व्यवस्थित बनाउने विषयमा सरोकारवालाहरुको ध्यान जान सकेको छैन ।
पोलमा पुराना, प्रयोग नै नभएका धेरै तार छन् । तर, ती तारमार्फत सेवा दिएका संस्थाहरू भने पुरानो तार फाल्नेतर्फ ध्यान नदिइ नयाँ तार राख्ने गरेका छन् ।