
काठमाडौं । नेकपा एमालेका कोही पनि पदाधिकारी समानुपातिकतर्फ उम्मेदवार बनेनन् । उम्मेदवार चयन गर्न पार्टीले बनाएको मापदण्डका कारण कोही पनि पदाधिकारी समानुपातिकमा नपरेका हुन् ।
एमालेले यसअघि समानुपातिक पद्धतिबाट अवसर पाएका, स्थानीय तह र राष्ट्रियसभाको उम्मेदवार बनेकालाई समानुपातिकतर्फ नराख्ने मापदण्ड बनाएको थियो । त्यही मापदण्डका कारण कोही पनि पदाधिकारी समानुपातिक उम्मेदवारको सूचीमा नपरेका हुन् ।
१९ मध्ये १५ पदाधिकारी प्रत्यक्षतर्फ सिफारिस भएका छन् । तर उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा र उपमहासचिव विष्णु रिमाल प्रत्यक्ष सिफारिस भएका छैनन् ।
एमालेले बुझाएको समानुपातिक सूचीको शीर्ष नेता स्थायी कमिटी सदस्य रघुजी पन्त हुन् । पन्तैसँगै गोरखबहादुर बोगटी, ईश्वर रिजाल, लीलबहादुर थापा लगायतको नाम एमालेले समानुपातिक सूचीमा राखेको छ स्रोतले बताएको छ ।
गएको चैतमा एमाले प्रवेश गरेका प्रेमबहादुर सिंहको नाम पनि समानुपातिक सूचीमा समेटिएको छ । एमालेले प्रतिनिधिसभाका लागि ११० र प्रदेशसभाका लागि २२० जनाको नाम बुझाएको छ । नम्बर नराखी एमालेले समानुपातिक सूची बुझाएको हो ।