गठबन्धन सरकार बिपीको सिद्धान्तअनुरुप अघि बढेको छ: कांग्रेस वरिष्ठ नेता पौडेल

तनहुँ ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन सरकार बिपीको सिद्धान्तअनुरूप अघि बढेको बताउनुभएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति तनहुँले आज दमौलीमा आयोजना गरेको १०९औँ बिपी जयन्ती तथा जनताका साथमा कांग्रेस अभियानको पहिलो चरणको समापन कार्यक्रममा उहाँले बिपीको मूल सिद्धान्त राष्ट्रिय एकता र मेलमिलापको नीति रहेकाले अहिलेको गठबन्धन सरकार सोहीअनुरुप चलेको स्पष्ट पार्नुभयो ।

बिपीले देखाएको मार्गलाई कांग्रेसले अवलम्बन गर्दै अघि बढेको छ । उहाँले भन्नुभयो, “यदि सिद्धान्तविपरीत हिँडेको भए अहिले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आउँदैन्थ्यो ।”

बिपीले जसरी जनतालाई शक्तिशाली बनाउन लागे सोहीअनुरुप जनताको सपना साकार पार्न कांग्रेसले अहम भूमिका निर्वाह गर्दै आएको उहाँले बताउनुभयो । उहाँले देशमा सङ्कट देखापर्दा कांग्रेसले निकास र बाटो देखाउन महत्वपूर्ण भूमिका खेल्दै आएको र आउँदा दिनमा पनि अवलम्बन गर्दै अघि बढ्ने प्रण व्यक्त गर्नुभयो ।

अबको अभियान भनेको पार्टी र गठबन्धनका उम्मेदवारलाई विजयी गराउनु मुख्य उद्देश्य रहेकाले पार्टीका सबै तह र तप्काबाट सक्रिय भएर लाग्न उहाँले निर्देशन दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ प्रतिनिधि सुरेन्द्र पाण्डे, गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्मा, प्रदेश सांसद सरिता गुरुङ, नेपाली कांग्रेस तनहुँका पूर्वसभापति वैकुण्ठ न्यौपानेलगायतका वक्ताले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा उम्मेदवारलाई विजयी गराउन लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।-रासस

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको