दार्चुला । जिल्लामा गौरा भित्र्याइने र बिसर्जन गरिने गौराघर, मठमन्दिर आँगनसम्मै चिटिक्क सजाइएका छन् । दमाहा, भोक्कर, नरसिंहजस्ता बाजा बज्न थालिसकेका छन् ।
गाउँघरमा मात्र नभई, यहाँका मुख्य बजार जिल्ला सरमुकाम खलंगा, गोकुलेश्वर, लेकमको रिठाचौपाता, मार्माको लटिनाथ, तथा जिल्लाका अन्य साना बजारमा गौराका लागि कपडालगायत अन्य समान किनमेल गर्नेको घुइँचो छ । व्यापारीलाई समान बेच्न भ्याइ नभ्याइ छ । प्रमुख सांस्कृतिक पर्व गौरा मनाउन रोजगारीका लागि भारत, तथा मुलुककै विभिन्न जिल्लामा रहेका धमाधम आप्mनो थलो फर्किरहेका छन् । प्रदेशकै कैलाली कञ्चनपुरबाट पनि दार्चुला फर्कनेको लाम छ ।
भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने पर्व गौरापर्वको पहिलो दिन महिलाले व्रत बसी घरघरमा तामाको भाँडामा बिरुडा (केराउ, गहत, गहुँ, मास र गुरौस) भिजाएर गौरा पर्वको विधिवत् रूपमा सुरुवात गर्दछन् । भदौ शुक्ल पञ्चमीका दिन बिरुडा भिजाउने चलन रहेकाले यस पञ्चमीलाई बिरुडा पञ्चमीका नामले चिन्ने गरिन्छ ।
भदौ शुक्ल पञ्चमीका दिन भिजाइएको बिरुडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन छ । त्यस्तै सप्तमीका दिन गौरादेवीलाई नजिकैको मठमन्दिरमा भित्यारएर पूजा अर्चना गरी विवाहित महिलाले दुवै धागो (मन्त्रिएको एक किसिमको धागो) चढाउने चलन रहिआएको छ । आठ वली अर्थात् अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खला (आँगन)मा पार्वती र शिवको पूजापाठ गर्ने चलन छ ।