राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक राष्ट्रिय सभाले विधायन समितिमा पठायो

काठमाडौं ।  प्रतिनिधि सभाले जस्ताको त्यस्तै पास गरेको नेपाल नागरिकता विधेयक राष्ट्रिय सभाले संसदीय समितिमा पठाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको नागरिकता विधेयकलाई राष्ट्रियसभाले छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो । अब विधायन व्यवस्थापन समितिले पारित गरेपछि मात्रै उक्त विधेयक राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत हुनेछ ।

आइतबार गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट पुर्नविचारका लागि फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन ) विधेयक -२०७९ लाई पुर्नविचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।

सो प्रस्ताव सर्वसम्मतले पारित भएको छ । अब विषयगत समितिमा नागरिकता विधेयकमाथि दफावार छलफल हुनेछ ।

बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनरविचारका लागि फिर्ता भएको नेपाल नागरिक विधेयक (पहिलो संशोधन) २०७९ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी गराएका थिए । संघीय संसदको दुवै सदनबाट पारित भइ नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको थियो ।

विधेयक संशोधन गर्नुपर्ने भन्दै राष्ट्रपतिले १५ बुँदे सन्देशसहित फिर्ता पठाएकी थिइन् । अब अर्को बैठक भदौ १६ गते बिहीबार दिउँसो ३ बजे बस्नेछ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको