शिशिर सिंखडा, चितवन । कालिका नगरपालिका, चितवनका निवर्तमान मेयर खुमनारायण श्रेष्ठ (गोपि) र उनका पिए दिपक लामिछाने विरुद्ध पुनः अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौंमा उजुरी परेको छ । उनिहरु विरुद्ध नगरपालिकाको २५ करोड रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको आरोपमा आयोगको दर्ता नं.सी००७१२८ मा दर्ता भएको आयोग श्रोतले जनाएको छ ।
मेयर श्रेष्ठ र उनका पिए लामिछानेले मिलेमतोमा अकुत सम्पती कमाएको आरोप लागेको छ । यस अगाडी पनि पिए लामिछाने विरुद्ध अकुत सम्पती कमाएको आरोपमा उजुरी परेको थियो । मेयर श्रेष्ठले आफ्नो कार्यकालमा लामिछानेलाई करार कम्प्युटर अपरेटर पदमा नियुक्ति गरि नगर भित्रका हरेक बिकास निर्माण र खरिद कार्यमा सेटिंग गर्ने जिम्मा दिएका थिए । श्रेष्ठ र लामिछाने विरुद्ध परेको ३ पाना लामो ३० बुद्धे उजुरीमा उनिहरुले भ्रष्टाचार गरेको फेहरिस्ता उल्लेख गरिएको छ । लामिछाने अहिले पनि नगरपालिकामा सोही पदमा कार्यरत रहेपनि १५ दिनमा १ पटक नगरपालिका गई हाजिरी गरि ४ महिना देखि तलब खाई रहेको नगरपालिका श्रोतले जानकारी दिएको छ ।
यस अगाडि पनि सरकारी पल्सर मोटरसाइकलको प्राईभेट नम्बर हालेर दुरुपयोग गरेको, नगरपालिकाको सरकारी गाडी दुरुपयोग गरेको समेत लामिछाने विरुद्ध अख्तियारमा उजुरी परेको समाचार सार्वजनिक भएको थियो ।
निवर्तमान मेयर श्रेष्ठ नेकपा(एमाले) को बागमती प्रदेश कमिटी सदस्य हुन भने उनका तत्कालीन पिए लामिछाने नेकपानेकपा (एमाले) को कालिका नगर कमिटी उपाध्यक्ष हुन ।