स्थानीय निर्वाचनमा कांग्रेसको आक्रामक चुनावी प्रचार रणनीति: न्यू-मिडियाको प्रयोग गर्ने, प्रतिपक्षीको पोल खोल्ने

काठमाडौँ  । स्थानीय चुनावका लागि नेपाली कांग्रेसले आक्रामक चुनावी प्रचार रणनीति अपनाउने भएको छ । केन्द्रीय प्रचार प्रसार समितिले पार्टीले विगतदेखि अहिलेसम्म गरेका राम्रा कामहरूको फेहरिस्त जनतामाझ पुर्‍याउने र प्रतिपक्षी पार्टीका पोल खोल्ने गरी चुनावी प्रचार रणनीति बनाएको हो । समितिले त्यहीअनुसार वडा र टोल तहसम्मै प्रचार संयन्त्र निर्माण गर्न र ती संयन्त्रमार्फत गतिविधि गर्न परिपत्र गरेको छ ।

कांग्रेसले यसपटक चुनावी प्रचारका लागि न्यू–मिडिया, सामाजिक सञ्जाल र आधुनिक प्रविधिको उच्चतम उपयोग गर्ने जनाएको छ । समितिका संयोजक एवम् प्रवक्ता प्रकाशशरण महतले कांग्रेसले विगतदेखि नै आफूले गरेका यथार्थ कामको विवरण समेत जनतामाझ पुर्‍याउन नसक्दा अरुले त्यसको लाभ उठाएको भन्दै यसपटक प्रचारप्रसारमा कुनै कमी आउन नदिने बताए ।

‘बीपीले भन्नुहुन्थ्यो–सत्यको मुख बन्द हुँदा झुठाको थुतुनो चल्छ भनेर । विगतमा हामीले आफूले गरेका कामको समेत प्रचार गर्न सकेनौँ, त्यसले गर्दा कम्युनिष्ट पार्टीहरूले भ्रम फैलाए,’ उनले भने, ‘यसपटक हामी तल्ला तहदेखि केन्द्रसम्म कांग्रेसले गरेका राम्रा कामको प्रचार गर्छौं । झुटो प्रचार गर्नेहरूले यसपटक भ्रम छर्न पाउने छैनन् ।’

गत मंगलबार सकिएको केन्द्रीय समिति बैठकले प्रवक्ता महतको संयोजकत्वमा स्थानीय चुनावका लागि केन्द्रीय प्रचारप्रसार समिति गठन गरेको थियो । समितिमा केन्द्रीय समितिका ६७ जना समिति मनोनीत भएपछि पहिलो बैठकसमेत बसिसकेको छ ।

समितिको पहिलो बैठकले केन्द्रीय कार्यालयमा मिडिया सेन्टर स्थापना गर्ने निर्णय गरेको छ । प्रवक्ता महतले स्थानीय चुनावमा देशभरको संयोजन गरेर केन्द्रीय प्रचारका लागि मिडिया सेन्टर स्थापना गर्ने निर्णय गरिएको बताए । ‘प्रदेश र स्थानीय तहमा समेत पार्टीको सञ्चार संयन्त्र तयार गर्न परिपत्र गरेका छौँ । स्थानीय तहका समाचार, जानकारी, निर्वाचन गतिविधि केन्द्रमा सम्प्रेषण गर्ने व्यवस्था मिलाउने र केन्द्रीय संचार केन्द्रबाट आवश्यक जानकारी स्थानीय तहसम्म सम्प्रेषण गर्ने व्यवस्था गर्दैछौँ,’ उनले भने, ‘पार्टीको प्रचार प्रसारका लागि आवश्यक सबै किसिमका प्रयासहरू गर्न निर्देशन गरिएको छ ।’

उनले प्रचार अभियानको क्रममा पार्टीका राम्रा कामबारे जनतालाई बुझाउने र प्रतिपक्ष पार्टीका गलत कार्यबारे जनतामाझ पोल खोल्न र सचेत गराउने काम गर्ने बताए ।

प्रचार समितिले रेडियो, एफ.एम, टि.भी, प्रिन्ट मिडिया, अनलाइन तथा सामाजिक सञ्जाल लगायतबाट पार्टीका सन्देशहरू सम्प्रेषण गर्ने, भ्रातृ तथा शुभेच्छुक संस्था, विज्ञ बुद्धिजिवी, सञ्चारकर्मी र अन्य पेसागत संस्थाका सदस्यहरूलाई परिचालन गर्ने निर्णय गरेको छ । त्यस्तै, प्रचार सामग्री उत्पादन तथा सञ्चारका लागि आवश्यक उप–समितिहरू समेत गठन गरिने जनाइएको छ ।

बैठकले समितिका संयोजकको परामर्शका लागि विज्ञ, वुद्धिजीवी, वरिष्ठ पत्रकारसमेत रहेको सल्लाकार समिति गठन गर्ने निर्णय गरेको छ । प्रचार समितिका संयोजक एवम् पार्टीका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले समितिले वडा तहसम्मै संयन्त्र बनाएर देशभर एकसाथ चुनाव प्रसारलाई तीव्रता दिने बताए ।

‘सञ्चार विज्ञ, भातृ एवं शुभेच्छुक संस्था र पार्टीका युवा पंक्तिलाई प्रचारमा परिचालित गर्ने, युवा विद्यार्थीलाई आ–आफनो गाउँ/नगरपालिकामा केन्द्रित गराएर पार्टीको प्रचारप्रसार गर्ने निर्णय भएको छ,’ उनले भने, ‘त्यस्तै यसपटक हामीले न्यू–मिडिया र सामाजिक सञ्जालको प्रयोग गरेर समेत पार्टीको पक्षमा जनमत बनाउने काम गर्छौ ।’

चुनावी प्रचारका क्रममा सामाजिक सञ्जाल र आधुनिक प्रविधिको समेत प्रयोग गरी पार्टीले गरेका कामबारे जनतालाई बुझाइने उनको भनाइ छ । ‘टोलसम्मै प्रचार समिति गठन हुन्छन्, तिनले स्थानीय गतिविधिलाई बढीभन्दा बढी मान्छेहरूसम्म पुर्‍याउने काम गर्छन्, यसपटक सामाजिक सञ्जालको भरमग्दुर प्रयोग गर्ने हो,’ उनले भने, ‘अब परम्परागत चुनाव प्रचारले मात्रै पुग्दैन, नवीन प्रविधि र न्यू–मिडियाको उपयोग गर्नुपर्ने हुन्छ ।’

समितिले चुनावलाई लक्षित गर्दै ‘नेपाली कांग्रेस’ नाम रहेको मोबाइल एप बनाउने र त्यसलाई चुनाव प्रचारकालागि उपयोग गर्ने जनाएको छ ।

समितिले प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति, गाउँ/नगर/वार्ड कार्यसमितिलाई प्रचार संयन्त्र गठन गर्न निर्देशन गरेको छ । ती समितिहरू गठन गर्दा प्रेस युनियनसँग समन्वय गरेर सामाजिक सञ्जाल, न्यू–मिडिया र प्रविधिको प्रयोग गर्न कांग्रेसको निर्देशन छ ।

‘पार्टीको घोषणा पत्र, प्रचारप्रसार सामग्री र नारा तयार गर्दा कांग्रेसको सरकार र कांग्रेसबाट विजयी भएको स्थानीय तहले देश र जनताको हितमा गरेका काम जनतालाई बुझाउने गरी प्रचार प्रसार गर्न निर्देशन गरेका छौं,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने, ‘त्यस्तै भावी कार्यक्रम र योजनाहरू जनतासम्म पुर्‍याउने काममा समेत त्यस्तै प्रयास हुनेछ ।’

उनका अनुसार तल्ला तहमा गठन हुने प्रचार समितिमा स्थानीय जनसंख्याको बनोटको प्रतिनिधित्व गराउने, घोषणा पत्रमा समावेश एजेन्डाहरूको व्यापक प्रचार प्रसार गर्ने तथा सामाजिक सञ्जालको उपयोगमा जोड दिइनेछ ।

विदेशमा रहेका मतदातालाई मतदान गर्न आव्हान

कांग्रेसले विदेशमा रहेका मतदातालाई समेत स्थानीय चुनावमा मतदानका लागि आह्वान गरेको छ । हाल विदेशमा रहेका नागरिकले विदेशबाटै मतदान गर्न पाउँदैनन् । कांग्रेसले विदेशमा रहेका आफ्ना मतदातालाई स्वदेश आएर चुनावमा मतदान गर्न आव्हान गरेको हो ।

‘विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई सम्भव भएसम्म मतदानको बेलामा स्वदेश फर्किएर नेपाली कांग्रेसलाई मतदान गर्न आव्हान गर्ने निर्णय भएको छ,’ केन्द्रीय सदस्य शिवाकोटीले भने, ‘सम्भव नभए आ–आफ्नै स्थानबाट विभिन्न माध्यमले आफ्नो गाउँ, नगर, घर परिवारका साथै सम्पर्क भएसम्मका व्यक्तिहरुलाई कांग्रेसको पक्षमा मतदान गर्न प्रेरित गर्न अपिल गरेका छौं ।’

उनले त्यसका लागि नेपाली कांग्रेसका विदेशस्थित जनसम्पर्क समितिहरूलाई परिचालन गर्ने निर्णय भएको बताए । ekantipur

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको