खोटाङ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाले फुटेको भनिए पनि पार्टीलाई कुनै क्षति नपुगेको बताएका छन् । एमाले पहिले जस्तै रहेको भन्दै कार्यकर्ताहरूलाई नआत्तिन आग्रह गरेका थिए ।
‘पहिले पनि एमाले फुट्यो तर जस्ताको तस्तै, अहिले पनि फुट्यो भनियो तर जस्ताको तस्तै’ ओलीले भने ‘बरु झन् ठूलो भएको छ, त्यसैले आत्तिनु पर्दैन ।’ आगामी स्थानीय निर्वाचनमा पनि एमालेकै जित हुने उनको दाबी थियो ।
नेकपा एमाले खोटाङले दिक्तेलमा शनिबार आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । यस्तै एमाले समृद्धिको पक्षमा उभिएकाले त्यसबाट आत्तिएर ‘षड्यन्त्र गरेर परमादेशबाट हराइएको’ ओलीको जिकिर थियो ।
‘एमाले जहिल्यै समृद्धिको पक्षमा उभिन्छ, मुलुक र जनताको पक्षमा उभिन्छ । त्यसैदेखि आत्तिएर जनादेशबाट बनेको सरकारलाई परमादेशले हरायो’ उनले भने । खोटाङको कार्यक्रममा ओलीपत्नी राधिका शाक्य, नेता रामबहादुर थापा, एमालेका प्रमुख सचेतक विशाल भट्टराई लगायत नेता थिए । शनिबार धार्मिक पर्यटकीय स्थल हलेसी भ्रमण गरी नेता ओली दिक्तेलको कार्यक्रममा पुगेका हुन् ।