
नयाँ दिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीबीच भेटवार्ता हुँदैछ। शनिबार बिहान हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री मोदी र देउवा पुगेका हुन्।
हैदराबाद हाउसमा देउवा र मोदीबीच एक्लाएक्लै तथा द्विपक्षीय वार्ता हुनेछ। त्यसपछि संयुक्त पत्रकार सम्मेलनको कार्यक्रम छ।
प्रधानमन्त्री देउवाको भारत भ्रमणमा जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुँदैछ। शनिबार हैदराबाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा स्विच थिचेर रेल सेवाको शुभारम्भ गर्ने कार्यक्रम छ।
त्यस्तै, नेपालमा भारतीय सहयोगमा निर्मित १ सय ३० भन्दा बढी स्वास्थ्यचौकीको संयुक्त उद्घाटन गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीले भनेजस्तै ऊर्जा कृषि स्वास्थ्य र यातायात क्षेत्रमा छलफल गर्न विभागीय मन्त्रीहरू भ्रमण टोलीमा समावेश छन्। ऊर्जामन्त्री पम्फा भुसाल र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलगायत अधिकारीले नेपालमा उत्पादित ऊर्जा भारतमा निर्यात तथा बिक्री वितरणका बारेमा छलफल गर्नेछन्।
त्यस्तै कृषिमन्त्री महेन्द्रराय यादवले मल खरिद सम्झौता गर्नेछन्। स्वास्थ्यमन्त्री विरोध खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्काले पनि आफ्नो विभागीय विषयमा छलफल तथा सम्झौता हुने बताइएको छ।