काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले तत्कालीन नेपाली कांग्रेसले भारतीय सेनालाई नेपाल भित्र्याएर देशभक्तहरूको टाउको कटाएको आरोप लगाएका छन् ।
तत्कालीन कांग्रेस सरकारले भीमदत्त पन्त लगायत सहिदहरूको हत्या गरेको उनको जिकिर थियो । साथै विद्यार्थी आन्दोलन दबाउन बीपी कोइराला गृहमन्त्री छँदा दमन गरेको र गोली हानेको भन्दै उनले कांग्रेसले विदेशी सेनाको प्रयोग गरी देशभक्तहरूको हत्या गरेको आरोप लगाएका हुन् ।
उनले भनेका छन्, ‘कांग्रेसले भारतीय सेना बोलाएर देशभक्तको टाउको कटाएको थियो । कांग्रेसले विदेशी सेनालाई बोलाएर देशभक्तको टाउको कटाएको थियो । भन्दा नराम्रो लाग्छ । यो सब नेपाली कांग्रेसले गराएको थियो । तर के गर्नु नेपाली कांग्रेस त्यस्तै हो ।’
शुक्रबार अनेरास्ववियुको कार्यक्रममा सम्बोधन गर्दै नेता ओलीले यस्तो बताएका हुन् । ‘कांग्रेस जहिले पनि थोत्रा र पत्रु तत्वहरूसँग मात्रै एकता गर्छ । कांग्रेसले जहिले पनि राष्ट्रियता विरोधी र लोकतन्त्र विरोधी शक्तिसँग एकता गर्छ । शत्रुसँग घाँटी जोड्ने । बिग्रिएका, सडेका, बिकाउ माल, लोकतन्त्र विरोधीसँग घाँटी जोड्ने । उहिले होस् कि अहिले होस्, कांग्रेसको जात नै त्यस्तै हो,’ ओलीले भनेका छन् ।
यस्तै ओलीले बीपी कोइरालासहितका नेताको भूमिकाको आलोचना गर्दै विद्यार्थी आन्दोलनले जागरण ल्याएको बताएका थिए । साथै कांग्रेस, माओवादी लगायतका दलहरूको गठबन्धनलाई लक्षित गर्दै कांग्रेस अहिले पनि लोकतन्त्र विरोधी शक्तिसँग सहकार्य गरेको ओलीको आरोप थियो ।
उनले विद्यार्थी आन्दोलनको वीरासत अनेरास्ववियुसँग रहेको भन्दै फेरि पनि जनचेतना उठाउने दायित्व अनेरास्ववियुको नै रहेको बताएका थिए । विद्यार्थी आन्दोलनको इतिहासबारे बोल्दै ओलीले कांग्रेसले जहिले पनि शत्रु र विरोधीसँग मिलेर विद्यार्थी आन्दोलन दबाउने काम गरेको बताएका थिए । यस क्रममा उनले कांग्रेसले भारतीय सेनालाई नेपालमा भित्र्याएर तत्कालीन विद्यार्थीहरूको हत्या गरेको आरोप लगाए ।