
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा गठबन्धन एकतावद्ध भएर अघि बढ्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा राजधानीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धन एकतावद्ध भएर बढ्ने बताएका हुन् । आफूहरु सबै अप्ठ्याराहरुलाई छिचोल्दै अगाडि बढेको र भविष्यमा पनि समस्याको समाधान गरेर अघि बढ्ने बताए। ‘गठबन्धनका सबैको सहयोगमा म प्रधानमन्त्री बनेको हुँ, ‘देउवाले भने, ‘चुनावमा पनि एकतावद्ध भएर अगाडि बढ्छौं ।’
चुनावलाई स्वतन्त्र र भयरहित बनाउन आफू गम्भीर भएर लागेको उनले बताए । प्रधानमन्त्री देउवाले सफल र स्वतन्त्र चुनावका लागि मिडियाको भूमिका महत्वपूर्ण हुने भन्दै साथ र सहयोगको आग्रह समेत गरे। देउवाले मिडियामा मिथ्या र भ्रामक समाचारहरुप्रति गम्भीर हुनुपर्ने बताए । उनले मिडियाले आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका निभाएको बताए ।
रिपोर्टर्स क्लब नेपालले देशमा भएका महत्वपूर्ण परिवर्तनदेखि संविधान निर्माणमा प्रशंसनीय भूमिका खेलेको भन्दै परिवर्तनका समयमा रिपोर्टर्स क्लब नेपालले महत्वपूर्ण भूमिका खेलेको बताए।