गठबन्धनका पाँच दल एक/एक किलोका ढक हुन, एमाले एक्लै क्विन्टल हो : अध्यक्ष ओली

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धनलाई एक/एक किलोका ढकको संज्ञा दिनुभएको छ । नेकपा एमालेचाहिँ सिंगै एक क्विन्टलको ढक रहेको भन्दै अध्यक्ष ओलीले एक एक किलोको पाँच वटा ढकले केही गर्न नसक्ने बताउनु भयो ।

व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले बुधबारबाट भक्तपुरको सूर्यबिनायकमा सञ्चालनमा ल्याउनु भएको तरकारी बजार उद्घाटन गर्दै ओलीले यस्तो बताउनु भएको हो । ‘कतिपय साथीहरूलाई लाग्न सक्छ गठबन्धन गरेका छन्। अप्ठेरो पर्न सक्ला भनेर,’ ओलीले भन्नुभयो, ‘मैले भन्ने गरेको छु यदि एउटा तराजुमा एक/एक किलोका पाँच वटा ढक एकातिर राख्नुभयो र क्विन्टलको ढक अर्कातिर राख्नुभयो भने के हुन्छ ? नेकपा एमाले क्विन्टलको ढक हो। पाँच वटा भनेका एक/एक किलोका ढक हुन्।’

ओलीले अब कुनै पनि पार्टीले एक्लै एमालेसँग लड्छु भन्ने कुरा नचिताए र नसोचे हुने तथ्य राख्नुभयो । ‘त्यसैले गठबन्धन गर्न जरूरी छ। एमालेसँग लड्न सकिँदैन भनेको ठिक छ। गठबन्धन गरेरै आउनुपर्छ। साह्रै बच्चा भयो भने गाह्रो हुन्छ। निहुरेर लडाइँ गर्नुपर्छ। कुम-कुममा खुट्टा राखेर पाँच जना आए त निहुरिन परेन,’ उहाँले भन्नुभयो, ‘लोभी पापीहरूको गठबन्धन कति गाह्रो होला ?’

उहाँले गठबन्धनमा विवाद हुन्छ भनेर एकैदिनमा उम्मेदवारी गर्न सकिँदैन भनी निर्वाचन आयोग गुहारिरहेको बताउनु भयो । गठबन्धनले दुई दिनसम्म मनोनयनको दिन राख्नुपर्ने भनिरहेको ओलीको भनाई थियो । ‘कहिल्यै भएको थियो दुई दिनसम्म मनोनयनको समय राखेको ?,’ ओलीले भन्नुभयो, ‘उहाँहरूले गठबन्धनबिना लड्न सकिँदैन भनेको ठिक छ। गठबन्धन गरेर पनि एमालेसँग सकिँदैन भन्ने बुझ्न बाँकी छ।’

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको