
काठमाडौँ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीहरुले गठबन्धन गरे पनि एमालेले चुनाव जित्ने ठोकुवा गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीहरु एकमुस्ट रुपमा आए पनि एमालेले एक्लै चुनाव लडेर जित्ने दाबी गरेका हुन् ।
उनले अन्य पार्टीहरु एमालेसँग डराएर यसका विरुद्धमा लागिरहेको आरोप लगाए । सबै पार्टीहरु एकातिर लागे पनि ५० प्रतिशतभन्दा बढी नेपाली जनता नेकपा(एमाले)को साथमा रहेको उनको जिकिर थियो ।
अध्यक्ष ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन गर्न खोजेको संकेत गर्दै देउवा एमालेको पाखुरा देखेर छक्क परेको टिप्पणी गरे । उनले भने ‘त्यसकारण योसँग डराएर अरुहरु एकजुट हुने र यसका विरुद्ध लाग्ने काम गरिराखेका छन् । मलाई सन्तोष लागेको छ, एक्लै एमालेसँग आउँछु भन्ने आँट, भिड्छु भन्ने आँट कसैले गरेको छैन चुनावमा । अरु त त्यस्तै हो नेपाली कांग्रेस सभापतिहरुको सम्मेलन बोलाउँछ, त्यसमा सभापतिहरुले भने यसो गर्नु हुँदैन । शेरबहादुर देउवाजीले कांग्रेसका प्रमुख सभापति, राष्ट्रिय सभापतिले भन्नुभयो नचाहिने कुरा गर्ने हो ? एमालेसँग एक्लै लड्यो भने के हुन्छ थाहा छैन ? त्यसकारण तालमेल गर्नुपर्छ भनेर उहाँले भन्नुभयो ।’
उनले गठबन्धनमा भएका पाँच वटा दल मात्रै नभएर दर्ता भएका सबै पार्टीहरु एकमुष्ट आए पनि एमालेलाई केही फरक नपर्ने उनले चेतावनी दिएका थिए । यस्तै एमालेले राष्ट्रवाद र देशभक्तिको धारको नेतृत्व गरेको उनले बताएका थिए ।