कांग्रेस बैठकमा एमालेसँग गठबन्धनको प्रस्ताव

काठमाडौँ ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आवश्यकताअनुसार नेकपा एमालेसँग समेत गठबन्धन गर्नुपर्ने धारणा आएको छ । बैठकमा धारणा राख्ने क्रममा कतिपय जिल्लाको अवस्थाबारे जानकारी गराउँदै केन्द्रीय सदस्यहरुले आवश्यकताअनुसार नेकपा एमालेसँग समेत गठबन्धन गर्नुपर्ने प्रस्ताव गरेका हुन् । शुक्रबारको बैठकमा कांग्रेसको चुनावी अभियानमा खटिएका २१ जना केन्द्रीय प्रतिनिधि नेताहरुले धारणा राखेका थिए ।

त्यस क्रममा केन्द्रीय सदस्य मुक्ताकुमारी यादवले सिन्धुलीमा स्थानीय तहको निर्वाचनमा जित हासिल गर्नकालागि नेकपा एमालेसँग गठबन्धन गर्नुपर्ने अवस्था रहेको बताएकी थिइन् ।

त्यस्तै, कर्णाली प्रदेश सभापति ललितजंग शाहीले समेत कर्णाली प्रदेशका कतिपय जिल्लामा नेकपा माओवादी केन्द्रका विरुद्व एमालेसँग गठबन्धन गर्नुपर्ने अवस्था रहेको बताएका थिए । ‘अहिले कम्युनिस्टहरू फुटेका छन्, यस्तो बेलामा कांग्रेस एक्लै लड्नु राम्रो हुन्छ,’ उनले भनेका थिए, ‘यदि गठबन्धन नै गर्ने हो भने कर्णालीका कतिपय जिल्लामा एमालेसँग गठबन्धन गरेर माओवादी तह लगाउनुपर्ने अवस्था छ ।’

बैठकमा बोल्ने अधिकांशले स्थानीय आवश्यकताअनुसार, मतभार समेतको व्याख्या गरेर पार्टीलाई लाभ हुने गरीमात्रै गबठन्धन गर्नुपर्ने धारणा राखेका छन् ।

प्रवक्ता प्रकाशसरण महतले बैठकमा वक्ताहरुले मिश्रित धारणा राखेको जानकारी दिए । उनले सरकार निर्माणको क्रममा एक खालको गठबन्धन बनेको भएपनि चुनावी गठबन्धनबारे अहिल्यै यो दलसँग गर्ने र अर्को दलसँग नगर्ने भनेर कांग्रेस नभनेको बताए । ‘सत्ता गठबन्धन एउटा हो, सकेसम्म सत्ता गठबन्धन दलसँगै मिलेर जानुपर्छ भन्ने हो, तर हामीले यी दलसँग गठबन्धन गर्ने, अरुसँग नगर्ने भनेका छैनौँ,’ उनले भने । सभापति शेरबहादुर देउवाले भने सत्ता गठबन्धनलाई चुनावी गठबन्धनकोरुपमा अघि बढाउने मनस्थिति बनाएका छन् ।

देउवाले यसअघि नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई केन्द्रीय समितिबाट गठबन्धन गर्ने निर्णय गराएर ल्याउने वचन दिइसकेका छन् । केन्द्रीय समितिमा भने गठबन्धन गर्ने वा नगर्ने भनेर केन्द्रले निर्णय गर्न नपाउने आवाज उठेको छ ।

प्रवक्ता महतले भने सभापति देउवा वा केन्द्रीय समितिले गठबन्धन गर्ने वा नगर्ने निर्णय गरेर जबरजस्ती मान्नुपर्ने, लाद्ने गर्न नसक्ने र त्यस्तो नचाहेको बताए । ‘यो विषयमा अहिले छलफल भइरहेको छ, तल्ला तहको अवस्था जे छ, आवश्यकता जे छ, त्यहीअनुसार गठबन्धनको विषयमा निर्णय हुन्छ,’ उनले भने ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको