काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र सत्तारुढ गठबन्धन निर्वाचन सार्ने षडयन्त्रमा लागिरहेको आरोप लगाएका छन् । एमालेको प्रथम पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै सोमबार निर्वाचन आयोगका गतिविधि र त्यसमा सत्तारुढ गठबन्धनको संलग्नतालाई ध्यानपूर्वक नियाल्नुपर्ने बताए ।
निर्वाचन आयोगमा आफू नेतृत्वको सरकारले नियुक्त गरेका तीन आयुक्तलाई सर्वोच्च अदालतबाट बर्खास्त गरेर निर्वाचन सार्ने तयारी भइरहेको पूर्वप्रधानमन्त्री ओलीको भनाइ थियो । ‘अझै पनि निर्वाचन सार्ने, नगराउने, पर धकेल्ने तयारी भइरहेको छ । त्यो पनि कलात्मक ढंगले तयारी भइरहेको छ । कलात्मक ढंगले निर्वाचन सार्ने प्रयास अहिले पनि हामी बुझ्न सक्छौं । संवाद भइरहेको छ आयोग र गठबन्धनका बीचमा । अरु आयुक्तहरूको नियुक्ति बदर गराउने हो भने दुई जनाले मात्रै गर्न सकिन्छ कि सकिँदैन भन्ने छलफल भइरहेको छ,’ उनले भने ।
ओली प्रधानमन्त्री हुँदा प्रतिनिधिसभा विघटन भएको बेलामा अध्यादेश ल्याएर निर्वाचन आयोग लगायत विभिन्न संवैधानिक अंगमा ५२ जनाको नियुक्ति भएको थियो । सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार ती मुद्दामाथि सुनुवाइ गर्दैछ । ओलीले सर्वोच्च अदालतले निष्पक्ष रूपमा न्याय निरुपण गर्न आग्रह गरेका छन् । उनले अदालतलाई भित्रैदेखि सम्मान गर्न पाइयोस् भन्ने आग्रह गरेका छन् ।
स्थानीय तहको २०७९ वैशाख ३० गतेका लागि घोषणा गरिएको निर्वाचन सार्ने तयारी भएको ओलीको भनाइ छ । त्यसका लागि अदालतको प्रयोग हुन लागेको उनको आशंका छ । ‘दुई जनाले मात्रै गर्न सकिँदैन भन्नका लागि ३ जनाको नियुक्ति बदर गर्ने । २ जनाको मौजुदगीमा सकिँदैन भन्ने प्रयास भइरहेको छ,’ उनले भने ।
ओलीले निर्वाचन आयोगले मतपत्रको रङ हरियो राखेकोप्रति पनि आपत्ति जनाएका छन् । उनले सत्तारुढ गठबन्धनसँग परामर्श गरेर आयोगले ‘रुख’को जस्तै रङ मतपत्रको राख्न खोजिएको उनले बताए । ‘सत्ता गठबन्धनसँग परामर्श गरेर हरियो, निलो राख्नुपर्ने ? अहिलेसम्म रङको कारणले चुनाव चिह्न चिनिएन भन्ने कुनै मतदाताबाट प्रश्न आयो ? रङको कारणले कन्फ्युजन भयो भन्ने त आएन । रङ बदलेर हरियो किन राख्नुपर्यो ? सकेदेखि अरु पनि हरियो बनाउछन् होला । सूर्य कसरी हरियो हुन्छ ?,’ उनले भने ।
मतपत्र कि त सेतो र कालो बनाउनुपर्ने नभए जुन चिह्नको रङ जस्तो हो त्यस्तै हुनुपर्ने ओलीको माग थियो । ‘हामीलाई रातो सूर्य दिनु न, रुखको रङ जस्तो हुन्छ त्यस्तै गर्नुपर्ने ?,’ उनको प्रश्न थियो ।
२०७० सालमा सिरहा निर्वाचन क्षेत्र नम्बर ३ र २०७४ सालको स्थानीय तहमा भरतपुर महानगरपालिका जस्तो निर्वाचन हुन नहुने र त्यसका लागि आयोगले सचेत बन्नुपर्ने ओलीको भनाइ थियो । सिरहामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संविधानसभा सदस्य उम्मेदवार थिए भने भरतपुरमा उनकी छोरी रेणु दाहाल मेयरकी उम्मेदवार थिइन् ।
त्यतिबेला निर्वाचन आयोग स्पष्ट रूपमा एमाले विरोधी बनेको ओलीको आरोप थियो । ‘यसपटक हामी मतपेटिका आँखाबाट ओझेल हुन दिन्नौं । हाम्रो आँखा अगाडि मत हालिनुपर्छ । हाम्रो आँखा अगाडि मतपेटिकाको सुरक्षा गर्नपर्छ । हाम्रो आँखा अगाडि मत गणना हुनुपर्छ,’ उनले भने ।