
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालप्रति कटाक्ष गर्नूभएको छ । आइतबार इलामको फिक्कलमा आयोजित कार्यक्रममा उहाँले एमालेले लगाइदिएको जुँगाको ताउ लगाएर हिँडेको भन्दै खनालप्रति कटाक्ष गर्नुभएको हो ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले आउँदो चुनावमा ओलीको बाकस खाली हुने बताउनुभएको थियो । त्यसको जवाफमा ओलीले भन्नुभयो, ‘नेकपा एमालेले लगाइदिएको जुँगामा ताउ लगाउने अहिले अनि एमालेको बाकस खाली हुन्छ भन्ने ? बाकस कसको खाली हुन्छ म भन्दिन तपाईहरुले जवाफ दिनुपर्छ आउँदो वैशाख ३० गते’ उहाँले भन्नुभयो । एमालेका कार्यकर्ताको बलमा चुनाव जितेकाहरु राजीनामा दिनुको सट्टा एमालेविरुद्ध नै लागेको ओलीले टिप्पणी गर्नुभयो ।
‘हेर्नुस् त एमालेका कार्यकर्ताले खियाएका जुत्ता चप्पलको मूल्य, बगाएको पसिनाको मूल्य, छोडेका कामको मूल्य, रोजगारीमा नगएर अन्तरे जन्तरेलाई भोट हाल्दा खर्चिएको समय कार्यकर्ताको मेहनत त्यो कुरा सबै बिर्सिएर त्यसको भत्ता खाइराखेर र राजीनामा गर्नुपर्दैन कमसेकम त्यसबट अलग हुनुपर्दैन?’ ओलीले प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो , ‘एमालेले लगाइदिएको एमपीको सांसदको फुली बोकेर मेयरको फुली बोकेर, एमालेलाई फिर्ता गर्नुपर्दैन ? विचार गर्नुस् त कति साह्रो लाजमर्नु ? कमसेकम नेकपा एमालेले टाँसिदिएको जुँगा खौरेर छोड्नुपर्छ नि ।’