
इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाखमा हुने स्थानीय चुनावमा गठबन्धनलाई खुट्टाले कुल्चने बताएका छन । इलाममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गठबन्धनलाई एमालेले एउटै खुट्टाले कुल्चने दाबी गरे ।
स्थानीय चुनावको नतिजा एमालेको पक्षमा आउने र त्यसपछिका चुनाव पनि एमालेमय हुने उनले दाबी गरे । जनताको बीचमा एमालेलाई कसैले पनि ढाल्न नसक्ने उनको भनाइ छ । अध्यक्ष ओलीले सुर्योदयमा सूर्यको जीत निश्चित भएको घोषणा गरे ।
ओलीले सुर्यले जित्ने ठाउँ भएकै कारण ठाउँको नाम सुर्योदय भएको दाबी गरे । उनले सूर्यलाई जित हासिल गर्न जुनकिरीहरुको जस्तो मोर्चाबन्दी गर्न आवश्यक नरहेको बताए । अध्यक्ष ओलीले भने, ‘सिङ्गो देश उज्यालो बनाउने सुर्य हामी छ, हामीले कोहिसँग मोर्चाबन्दी गर्न पर्दैन ।’
जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश विकासमा एमाले नै नेतृत्वकर्ता भएको बताए । उनले इलामको बाटो विग्रिएको भन्दै चाँडै राजमार्ग सरह व्यवस्थित सडक निर्माण गर्ने बताए । इलामको नगदे बालीमा केही समस्या देखिएको भन्दै अध्यक्ष ओलीले संरक्षण र बजारिकरणमा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।