
काठमाडाैँ । नेकपा (एमाले) स्थानीय तहको निर्वाचन लड्न जनप्रतिनिधिले पदबाट अग्रिम राजीनामा दिनुपर्ने प्रावधानको विरूद्धमा उभिएको छ । एमाले उपमहासचिव विष्णु रिमाल र केन्द्रीय सदस्य विष्णु रिजाल लगायतले सामाजिक सञ्जालमा टिप्पणी लेख्दै यसकाे चर्को बिरोध गर्दै निर्वाचन अायोगमाथि विभिन्न प्रतिप्रश्न गरेका छन ।
उपमहासचिव रिमालले भनेका छन, ‘प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन । स्थानीय तहका “प्रधानमन्त्री”-पालिका अध्यक्ष वा मेयरहरुले चाहिँ चुनावमा जानुअघि पद खाली गरि जनतालाइ दिनुपर्ने सेवा नै बन्द गर्नु पर्ने किन ? निर्वाचनमा जादा पद्को दुरुपयोग नहोस्, सोच्नु पर्ला । तर यसलाई देखाएर काम नै रोक्नु कसरी ठिक हुन्छ ?’
उनले अघि भनेका छन, ‘निर्वाचन आयोग ! कुनैपनि सेवा अबरुद्ध नहोस भनेर अबधी सकिनु २ महिना अघि चुनाव गर्नुपर्ने कानुनी प्राबधान राख्ने, तर त्यही कानुन बिपरित पद खाली गर्ने प्राबधान आचार संहितामा किन राख्ने ?’ रिमाल नेकपा एमालेको निर्वाचन विभागका प्रमुख समेत हुन ।
त्यस्तै केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पनि स्थानीय तहको निर्वाचन लड्न जनप्रतिनिधिले पदबाट अग्रिम राजीनामा दिनुपर्ने प्रावधान विभेदकारी, पूर्वाग्रही र हास्यास्पद रहेकाे बताएका छन् ।
‘के त्यो भए प्रतिनिधिसभाको निर्वाचन हुँदा प्रधानमन्त्री शेरबहाहदुर देउवा र उहाँका मन्त्रीहरुले पहिल्यै राजीनामा दिनुहुन्छ ? पदमा रहेर चुनाव लड्न पाइने होइन भने चुनाव गराउन या देशमा निर्दलीय सरकार बनाउनुपर्ने भयो या त प्रधानमन्त्री-मन्त्रीहरु नहुँदा सरकारबिना नै चुनाव गराउनुपर्ने भयो,’ उनले सामाजिक सञ्जालमा प्रश्न गरेका छन् ।
उनले अगाडि भनेका छन्, ‘स्थानीय तहमा एमाले का जनप्रतिनिधि बढी छन् र फेरि पनि उनीहरुले नै जित्ने हुन् भन्ने नाममा यति हाँस्यास्पद निर्णयमा पुग्दा सामान्य तथ्यको त ख्याल हुनुपर्ने हो ।’
स्थानीय तहकाे निर्वाचन ३० वैशाखमा हुँदैछ । निर्वाचन आयोगले बिहीबार आचारसंहिता प्रकाशित गर्दै आफ्नो नाममा पेस्की वा बेरुजु भएका स्थानीय तहका पदाधिकारी उम्मेदवार बन्न नपाउने व्यवस्था गरिएको छ । त्यस्तै जनप्रतिनिधि उम्मेदवार बन्न नपाउने, उम्मेदवारीअघि राजीनामा दिनुपर्ने व्यवस्था पनि कायम गरिएकाे छ ।