काँग्रेस नेतालाई पुनको चेतावनी: विचार गरेर बोल्नु, सत्ताबाट सडकमा पुर्‍याउन सक्छौं

बुटवल । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले पाँच वर्षका लागि सडकमा पछारिएको काँग्रेसलाई आफूहरूले सत्तामा पुर्‍याएको टिप्पणी गरेका छन् ।

तर, आफूहरूले बुई चढाएर सडकबाट सत्तामा पुर्‍याएको काँग्रेसका केही नेतामा उन्माद देखिएको भन्दै पुनले आक्रोश व्यक्त गरे । उनले माओवादी केन्द्र र सत्ता गठबन्धनआवद्ध अरु दललाई सार्वजनिक टिप्पणीमार्फत हेप्न र अपमान नगर्न चेतावनी समेत दिएका छन् ।

नेता पुनले सत्तामा रहेकालाई सडकमा र सडकमा रहेकालाई सत्तामा पुर्याउने हैसियत आफूहरूको रहेकाले विचार गरेर बोल्न आग्रह गरे । ‘पाँच वर्षका लागि सडकमा पुगेको काँग्रेसलाई बुई चढाएर हामीले सत्तामा पुर्याएका हौं । आज केही काँग्रेस नेताहरूमा सत्ता उन्माद देखिएको छ,’ माओवादी लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पुनले भने, ‘काँग्रेसका केही नेताले माओवादी केन्द्र र सत्ता गठबन्धनमा सहभागी दललाई हेप्ने, अपमान गर्ने र सार्वजनिक टिप्पणी गर्ने गरेका छन् । हामी सरकार बनाउन सक्छौं, भत्काउन सक्छौं । सडककालाई सत्तामा र सत्ताका लागि डकमा पुर्याउने ताकत हामीसँग छ । यो काँग्रेस नेताहरूले बुझ्न जरुरी छ ।’

उनले चुनावी गठबन्धनविरुद्ध रहेका काँग्रेस नेतालाई चार वर्षअघि फर्किएर ०७४ को निर्वाचन परिणाम स्मरण गर्न सुझाव दिए । आफ्नो वास्तविक शक्ति सम्झिएर के बोल्ने/के नबोल्नेबारे विचार गर्न आग्रह गरे ।

पुनले केपी ओलीमा सत्ता उन्माद चढेपछि उनले भोगेको हविगतबाट पाठ सिक्न काँग्रेस नेतालाई सुझाए । ‘सत्ता उन्मादले केपी ओली प्रतिगमनको नाइके हुनुभयो । पटक–पटक संसद विघटन गर्नुभयो,’ उनले भने, ‘आफ्नो कर्मका कारण दुई तिहाई विशाल जनमतसहितको शक्तिशाली प्रधानमन्त्री आज सडकमा पुग्नुभएको छ, ६ महिनादेखि बिना एजेण्डा संसदमा नारा लगाइरहनुभएको छ ।’ तर, आफ्ना हार्डकोर कार्यकर्ताबाहेक कसैले पनि ओलीप्रति सहानुभूति नदर्शाएको अवस्था काँग्रेस नेताले बुझ्नुपर्ने पुनले बताए ।

उनले माओवादी केन्द्र कसैसँग तालमेल नगरी आफ्नै बलमा निर्वाचन लड्न र जित्न सक्षम रहेको दाबी उनले गरे । स्थानीय तह र संघीयताका लागि माओवादी लडेको चर्चा गर्दै पुनले त्यसको नेतृत्व गर्न पनि माओवादी सक्षम साबित भएको दाबी गरे ।

वित्त आयोगको प्रतिवेदनले कार्यसम्पादनका आधारमा देशभरका पाँच उत्कृष्ट पालिकामध्ये पहिलो, तेश्रो र पाचौं माओवादीले नेतृत्व गरेका स्थानीय तह भएको औल्याएको भन्दै पुनले माओवादी जनप्रतिनिधिले जनताका पक्षमा काम गरेको बताए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको