
काठमाडौँ । पाँच दलीय गठबन्धनबाट बनेको बागमती प्रदेश सरकार असफलताको नजिक पुगेको छ । गठबन्धनका मुख्यमन्त्री राजेन्द्र पाण्डेको नेतृत्वमा बनेको बजेट खर्च तथा राजश्व संकलनमा निरासाजनक रहेको छ । त्यसोत बागमती प्रदेश सरकार जनताको लागि भन्दा पनि भागबन्डामा नै सिमित भएकोे शुरुवाती चरणबाट नै प्रष्ट भएको छ । जनमुखी कदमको त कुरै नगरौं, मन्त्रालय थपेर सरकारको आर्थिक भारलाई मात्र थप गर्दै अगाडी बढेको छ ।
बागमती प्रदेश सरकारले ६ महिनाको अवधिमा कुल बजेटका १५ प्रतिशत मात्र खर्च गरेको छ । सरकारले ६ महिनाको समयमा विनियोजन कुल बजेट ५७ अर्ब ७२ करोड ९ लाख मध्ये ८ अर्ब ७४ करोड ६४ लाख रुपैयाँ मात्र खर्च गरेको हो । चालू आर्थिक वर्षमा कुल राजस्व ३१ अर्ब ६९ करोड प्राप्त हुने अनुमान गरिएकोमा हालसम्म १३ अर्ब ५६ करोड मात्र प्राप्त भएको छ । गत आर्थिक वर्षमा सरकारले कुल राजस्व २६ अर्ब ५ करोड ७६ लाख ९४ हजार प्राप्त हुने अनुमान गरिएकोमा अर्ध वार्षिक समयमा कुल अनुमानको ३७ दशमलव १० प्रतिशत राजस्व प्राप्त भएको थियो ।
सरकारले अर्ध वार्षिक अवधि समाप्त हुँदा कोरोना संक्रमणको जोखिम, विभिन्न राजनीतिक परिवर्तन र सरकारको अस्थिरताको कारण बजेट खर्चमा सोचे अनुरुप खर्च गर्न नसकिएको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय हेटौंडाले जनाएको छ ।