
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् प्रभावकारी बन्न नसकेको बताएका छन्।
नेपाल निजामती कर्मचारी संगठनको ११औँ राष्ट्रिय अधिवेशनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूले गरेको विघटनको औचित्य पुष्टि हुँदै गएको दाबी गरे।
उनले भने, ‘संघीय संसद्ले कामै गर्न सकेन। सांसदहरूले भत्ता खानेबाहेक केही काम गरेनन्। मुद्दा लडेर फिर्ता ल्याएको संसद्ले के काम गर्छ र विचरा !’
मुद्दा लडेर फिर्ता ल्याएको संसदमा भत्ता खाने बाहेक केही काम नभएको भन्दै ओलीले थपे, ‘सर्वोच्च अदालतले टीको लगाइदिएर सरकार बनेको छ । अनि के काम गरुन् । त्यसैकारण हामी भन्छौं जनतामा जानुपर्छ।’
उनले विगतको जनादेश खण्डन भइसकेकाले नयाँ जनादेशमा जानुपर्ने अनिवार्य भएको बताए। ओलीले संसद्लाई निकम्मा बनाइएको भन्दै भत्ता खानेबाहेक केही काम नभएको आरोप लगाए।
ओलीले भने, ‘यो सरकार परमादेशबाट बनेको हो। कहिलेकाही सत्तामा उन्माद आउँछ। त्यसैले सही प्रतिनिधि ल्याउनुपर्छ। कोही कोही मानिसहरु चुनावदेखि डराउँछन्।’