बुढो रुखलाई बचाउन मतपत्र हरियो बनाउन खोजिँदैछ: एमाले अध्यक्ष ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको निर्वाचनमा जनताले गर्ने फैसला स्वीकार्य हुने बताएका छन् । मोरङको रंगेलीमा एमालेले बुधबार आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले आफू नेतृत्वको सरकारले मुलुकमा विकास निर्माणका धेरै काम गरेको दाबी गरे ।

‘हामी सरकारमा हुँदा विकास निर्माणका धेरै कामहरु भएका छन्,’ ओलीले भने, ‘त्यसको फैसला अब जनताले गर्छन् ।’ निर्वाचनमा एमालेलाई न्याय गर्न पनि उनले आग्रह गरेका छन् । चुनावमा जाँदा एमालेले एमसीसीका बारेमा जनतामा रहेको भ्रम चिर्ने उनले बताए ।

संसदलाई प्रभावकारी हुन नदिने, जनताका काममा अवरोध गर्ने, विरोधीसँग मिलेर सरकार ढाल्ने, अदालतमा मुद्दा हाल्ने गतिविधि आफ्नै पार्टीबाट हुन थालेपछि संसद विघटन गरिएको ओलीको भनाइ छ । ‘कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउँदै विरोधीसँग मिलेर नयाँ सरकार बनाउने र जनताको काम हुन नदिने खेल हुन थाले,’ उनले भने, ‘अब जनताले फैसला गर्नुपर्छ भनेर ताजा जनादेशमा मुलुकलाई लैजान संसद विघटन गरियो ।’

मतपत्र हरियो बनाएर निर्वाचन आयोग कांग्रेसतिर झुकेको भन्दै त्यसलाई सच्याउन उनले आग्रह गरेका छन् । ओलीले प्रचण्डको पार्टी नेकपा (माओवादी केन्द्र) भ्रमको गोलो मात्रै भएको बताए । ‘प्रचण्डको पार्टी पार्टी हैन,’ उनले भने, ‘यो भ्रमको गोलो मात्रै हो ।’
सबै शक्ति मिलेर संसदलाई निष्प्रभावी बनाउन खोजिएपछि जनतामा जाने निर्णय गरिएको उनको भनाइ छ । अहिलेको सरकार संसद र व्यवस्थाले नभइकन परमादेशबाट अरुले नै बनाइदिएको उनको टिप्पणी छ । ‘असंवैधानिक ढंगले सरकार बनाएर अघि बढ्ने काम भइरहेकाले अबको निर्वाचनमा एमालेलाई जनताले न्याय दिनुपर्छ,’पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने, ‘एमालेको नेतृत्वमा मुलुकमा थुप्रै कामहरु भएका छन् ।’

उनले मतपत्र हरियो रंगको नभइकन रातो हुनुपर्ने बताए । निर्वाचन आयोगले कांग्रेसलाई फाइदा पुग्ने गरी मतपत्र बनाउन लागेको ओलीको आरोप छ । ‘बुढो रुखलाई बचाउन मतपत्र हरियो बनाउन खोजिँदै छ, ‘उनले भने, ‘पात मात्रै झरेको छैन, रुख नै सुकेको छ ।’

मतपत्र हरियो बनाएर निर्वाचन आयोग कांग्रेसतिर झुकेको भन्दै त्यसलाई सच्याउन उनले आग्रह गरेका छन् । ओलीले प्रचण्डको पार्टी नेकपा (माओवादी केन्द्र) भ्रमको गोलो मात्रै भएको बताए । ‘प्रचण्डको पार्टी पार्टी हैन,’ उनले भने, ‘यो भ्रमको गोलो मात्रै हो ।’

माधवकुमार नेपालले पार्टी छाडेपछि हाइसन्चो भएको ओलीको टिप्पणी छ । केही व्यक्तिले पार्टी छाडेपछि एमाले पार्टी झन् बलियो भएको जिकिर उनले गरेका छन् । देशमा विकासको लहर एमालेले चलाएको दाबी गर्दै ओलीले एमालेलाई जनताले न्याय दिनुपर्ने धारणा राखे ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको