
बाग्लुङ । सामाजिक बिकृती, लागुऔषध दुर्ब्यसनी तथा जुवातासजस्ता सामाजिक अपराध अन्त्यका लागि प्रहरीले सक्रियता बढाएको छ ।
पछिल्लो समय सामाजिक अपराध न्यूनीकरणमा जिल्ला प्रहरी कार्यालय बागलुङले सक्रियता बढाएको हो । विगत तीन दिनको अवधिमा प्रहरीले १ सय २२ एम्पुल लागुऔषध, ३७ हजार नगदसहित चार जनालाई पक्राउ गरिएको छ भने अवैध नदी दोहन गर्ने चार वटा ट्र्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिनुभयो । बागलुङ नगरपालिका–९ तित्याङ घर भई बागलुङ बजारको रामरेखास्थित कोठाबाट प्रहरीले फेनारगन १४, डाइजेपाम १४ र नुरफिन १३ एम्पुल गरी कुल ४१ एम्पुल लागु औषधसहित रोशन थापालाई पक्राउ गरिएको छ । यसैगरी लुकाएर राखिएको अवस्थामा प्रहरीले फेनारगन २७, डाइजेपाम २७ र नुरफिन २७ एम्पुल गरी कुल ८१ एम्पुल लागु औषधसहित बागलुङ नगरपालिका–४ का अभिनाश बोहोराले पक्राउ गरिएको छ ।
यस्तै बागलुङ नगरपालिका–१ कालिका मन्दिर गेटमा स्वीकृत बिना लक्की सेभेन स्केल (डार्ट) खेल खेलाउन विभिन्न बोर्ड सङ्कलन गरिराखेको अवस्थामा प्रहरीले लामा र मनबहादुर हर्मेललाई रु ३७ हजारसहित पक्राउ गरेको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिनुभयो। प्रहरीले यस्तो खेललाई जुवा मान्दै आएको छ ।
पछिल्लो समय जिल्लामा जुवातास खेलाउने गिरोह बढिरहेको जनगुनासो आएपछि सुक्ष्म रणनीति योजना बनाएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार गत शुक्रबार अवैधरुपमा कालीगण्डकी नदीबाट नदीजन्य पदार्थको ढुवानी गर्ने चार ट्र्याक्टरलाई नियन्त्रणमा लिएर कारबाहीका लागि बागलुङ नगरपालिकामा पठाइसकेको छ । हालै मात्र सरुवा भएर बागलुङ आउनुभएका प्रहरी उपरीक्षक ज्ञवालीले आफूले शान्ति सुरक्षामा कुनै कसर बाँकी नराख्ने बताउनुभयो । साभार: pardafas