एमाले अध्यक्ष ओली निवासमा प्रधानमन्त्री देउवासहित कांग्रेसको टोली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा पुग्नुभएको छ । गत भदौ २३ गतेदेखि प्रतिनिधि सभामा एमालेले गरिरहेको अवरोध खुलाउन देउवा भक्तपुरको बालकोटस्थित अध्यक्ष ओली निवास पुग्नुभएको बताइएको छ ।

देउवाले अमेरिकी सहायता परियोजना सम्झौता अनुमोदनका लागि अवरुद्ध संसद् सञ्चालन गराउन यही फागुन ५ गतेदेखि निरन्तर एमाले अध्यक्ष ओलीलाई भेटेरै आग्रह गरिरहनुभएको छ । फागुन ५ गते उनी पत्नी डा. आरजु राणा देउवा साथमा लिएर बालकोट पुग्नुभएको थियो । सोही दिन प्रधानमन्त्रीको सरकारी निवसा बालुवाटारमा भएको पाँचदलीय गठबन्धनको वार्तामा एमसीसी पारितका लागि सहमति नजुटेपछि उनी प्रमुख प्रतिपक्ष एमाले गुहार्न बालकोट पुग्नुभएको हो ।

त्यसअघि फागुन ५ गते बिहान प्रधानमन्त्री देउवाले कांग्रेस नेता डा. मिनेन्द्र रिजाललाई ओलीसँग वार्ता गर्न बालकोट पठाउनुभएको थियो । त्यससँगै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि ओलीसँग टेलिफोन संवाद गर्नुभएको थियो । त्यसयता प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच तीनपटक छलफल भइसकेको छ ।

गत बिहीबार प्रतिनिधिसभा बैठक स्थगित गरेरअध्यक्ष ओलीसँग उहाँले संघीय संसद भवनमै अवरुद्ध संसद सुचारु र एमसीसी पारितका विषयमा छलफल गर्नुभएको थियो । सोही दिन बेलुकी उहाँहरुका बीचमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि सहमतिको प्रयास स्वरुप छलफल भएको थियो ।

यस्तै शुक्रबार बेलुकी पनि प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच बालकोटमै छलफल भएको थियो । एमालेबाट अध्यक्ष ओलीसँगै महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीपकुमार ज्ञवाली पनि सहभागी हुनुभएको थियो । शुक्रबारको छलफल लगायत पटक–पटकको भेटमा अध्यक्ष ओलीले देउवासँग प्रतिनिधिसभामा प्रवेश गर्ने वातावरण निर्माण गर्न सुझाव दिँदै आउनुभएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको